अनाथालय विद्यालय भवनको नगर प्रमुख कलवारद्वारा शिलान्यास

साझेदारी दैनिक
299 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ रौतहटको गरुडा नगरपालिका ४ स्थित वंशीराम जयसवाल अनाथालय परिसरमा विद्यालय भवनको शिलान्यास वैदिक मन्त्रविच शनिबार गरिएको छ। नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अनाथालय प्राथमिक विद्यालय भवनको शिलान्यास गरेका हुन्।

नगरपालिकाको स्वीकृत कार्यक्रम बमोजिम ५५ लाख रुपैयाँको लागतमा सो भवन निर्माण हुन गइरहेको छ। विद्यालय भवनको निर्माण भएपछि अनाथ बालबालिकाका साथै टोलछिमेकका बालबालिकालाई अध्ययन गर्न सजिलो हुने नगरप्रमुख कलवारले बताए।

चालु आर्थिक वर्ष भित्रै विद्यालय भवनको निर्माण भइसक्ने नगर प्रमुख कलवारको भनाइ छ । अनाथालय प्राथमिक विद्यालयमा १८० जना बालबालिका अध्ययन गरिरहेको प्रधानाध्यापक राजवंशी चौरसियाले जानकारी दिए। अनाथालय प्रावि कक्षा ५ सम्म संचालनम रहेको छ।

अत्यन्त जीर्ण भवनमा पठनपाठन संचालन भइरहेको छ। तत्कालको लागि चार कोठे भवन निर्माण हुने र आगामी आर्थिक वर्षमा पनि दुई तलाको लागि थप बजेट निकासा भएपछि अनाथालय प्राविको विद्यालय भवनको समस्या समाधान हुने विश्वास स्थानीयले लिएका छन् ।

विद्यालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार चौधरीले निर्धारित समयमा नै विद्यालय भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे। विद्यालय भवनको निर्माणमा गुणस्तरमा कुनै पनि सम्झौता नगरिने अध्यक्ष चौधरीले जनाए।

शिलान्यासको अवसरमा अनाथालयका संस्थापक तथा विद्यालयको लागि जग्गादाता समाजसेवी वंशीराम जयसवाल,अनाथालय अध्यक्ष भुवनेश्वर राम जयसवाल,गरुडा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हरेन्द्र चौधरीको विशेष उपस्थिति थियो। सो कार्यक्रममा समाजसेवी तथा अनाथ बालबालिकाको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds