एकसाता देखी नगरपालिकामा लागाइएको ताल्चा अझै खुलेन

साझेदारी दैनिक
साझेदारी दैनिक 160 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

करण कुमार मिश्र/

गत एक सातादेखी रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा लगाइएको ताला अझै खुल्न सकेको छैन ।

नगरपालिका कार्यालयमा ताल्चा लगाइएका कारण सेवाग्राहीहरुको कामकाज पूर्ण रुपमा प्रभावित भएको छ ।

गरुडाकी नगर उपप्रमुख पुनमदेवी चौधरी सहित ६ जना वडा अध्यक्षहरुले विभिन्न माग राख्दै गत शुक्रवारदेखी नगरपालिका कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन । तालाबन्दी सहित धर्नामा बस्दै आएको कारण कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु ठप्प हुँदा नगरवासी समस्यामा परेका छन् ।

करारका कर्मचारीलाई बाँकी रहेको तलब दिनुपर्ने, कार्यपालिकाको नियमित बैठक बोलाउनु पर्ने,नगरसभाका निर्णयहरु कार्यपालिका बैठकमा सार्वजनिक गर्नुपर्ने,गत आर्थिक वर्ष र यस चालू आर्थिक वर्षको सम्पुर्ण खर्चहरु कार्यपालिका बैठकमा पेश गर्नुपर्ने,नियुक्त गरिएका करारका कर्मचारी खारेज गर्नुपर्ने र प्रत्येक वडामा समान स्तर बजेट बिनियोजन गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रेका छन् ।

जनप्रतिनिधिहरुले कार्यालयमै ताल्चा लगाएर आन्दोलनमा उत्रेका कारण सेवा लिन कार्यालय जाने सेवाग्राहीहरु सेवा नलिइ रितै हात घर फर्किन बाध्य भइरहेका छन्।

जनप्रतिनिधिहरुले पालिकामै ताला लगाएर आन्दोलन गरी आफुहरुलाई सेवा लिनबाट बञ्चित गरेको र अनावश्य दुख दिने काम गरेको स्थानीयहरुले बताएका छन् ।

जनप्रतिनिधिबीचको आपसी द्धन्द्ध,विवाद,मनमुटाव र कटरावका कारण कार्यालय बन्द रहदा कार्यालयबाट सेवा लिन नपाएर आफुहरु पीडित भएको सेवाग्राहीहरुको गुनासो छ ।

वडा अध्यक्षहरुले एक करोड रुपैयाँ बजेट मागेको र आफुले त्यति रकम दिन नमानेपछि उनिहरुले पालिका कार्यालयमा तालाबन्दी गरि जनतालाई दुख दिने काम गरेको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले बताए ।

वार्ताद्धारा आफु समस्या समाधान गर्न तयार रहेको भएपनि उनिहरुले वार्तामा आउनै नचाहेको मेयर जयसवालले गुनासो गरे । आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आफुले पटक पटक आग्रह गर्दा पनि उपमेयर पुनमदेवी सहित आन्दोलनरत वडा अध्यक्षहरुले वार्तामा आउन तयार नभएको मेयर जयसवालले बताए ।

मेयर जयसवालले वार्ता मार्फत समस्याको समाधान खोजिरहेका छन भने आन्दोलनकारीहरुले माग पुरा गर्ने ठोस आधार वा लिखित रुपमा सहमति गरेपछि मात्र वार्तामा जाने अडान लिएका छन् । दुबै पक्ष अ आफनै अडानमा कायम रहेकाले सहमति हुन सकिरहेको छैन ।

आफना निहीत स्वार्थ पुरा नहुँदा जनप्रतिनिधिहरुले आन्दोलन गरी आफुलाई बदनाम गराउने र असफल सावित गर्ने षडयन्त्र रचेको उनले बताए । जनताको कामकाजलाई कुनै ख्यालै नगरी उनिहरुले पालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेर पालिकालाई अस्तव्यस्त बनाएको उनले आरोप लगाए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीले कुनै पनि सरकारी कार्यालयमा तालाबन्दी गरी जनताको कामकाज प्रभावित गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

गरुडा नगरपालिका कार्यालयमा लगाइएको ताल्चा खुलाउने प्रयास आफुले गरिरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review