पर्सा । छठपर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित शृङ्गारिने काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज महानगरसहित पर्साका विभिन्न छठघाटमा सरसफाइ गरेर चिटिक्क पार्ने काम गरिएको छ ।
मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, नगवा पोखरी, छपकैयाँ पोखरी रानीघाटसहितका जिल्लाका विभिन्न छठघाट तथा नदीतटमा कलात्मक रङ्गीचङ्गी डिजाइन, झलरबत्तीसहित सरसफाइ र सजाउने काम अन्तिम चरणमा पुगेको छ । आफ्नो टोलछिमेकमा रहेका पोखरी तथा तलाउलाई यहाँका स्थानीयले स्वतस्र्फूत रुपमा खर्च गरेर सजाउने काम गरेका छन् ।
छठपूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेशकुमार साह कानुले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
“हामीले जनआस्थाको पर्व छठपर्वलाई लक्षित गरेर घडीअर्वा पोखरीलाई शृङ्गार गरेर चिटिक्क पारेका छौंँ”, उहाँले भन्नुभयो, “घडीअर्वा पोखरीको छठ पर्वमा गरिने झलरसहितका बत्ती र सजावट हेर्नका लागि छिमेकीमूलुक भारतको विहार राज्यका तथा नेपालका पनि काठमाडौंँ, चितवन, मकवानपुरलगायतका स्थानबाट पर्यटक आउने गर्नुहुन्छ ।” समितिले यसवर्ष करिब रु २५ लाख खर्चेर छठपर्वलाई भव्य र सभ्य ढङ्गले अघि बढाउने प्रयास गरेको छ ।
अध्यक्ष कानुले घडीअर्वाको छठपर्वमा मात्रै एक लाखभन्दा बढीे दर्शनार्थीले हेर्ने बताउनुभयो । तराई–मधेशका महिलाले छठपूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन् । यसवर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठपर्व मनाइँदै आइएको छ । “छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “वीरगञ्जको घडीअर्वा पोखरीमा छठपूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो, पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ ।”








