कलैया : राजेश कुशवाहा / अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२४ को अवसरमा बाराको कलैया स्थित भरत चोकमा बुधबार सांझ दीप प्रज्वलन गरिएको छ।
कलैया उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामी कार्यक्रम÷दलित जनजाति उत्थान केन्द्र र आप्रवासी हकहित संजाल,कलैया,बाराको अगुवाईमा उक्त दीप प्रज्वलन गरिएको हो।
आप्रवासनका समयमा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको केन्द्रले जनाएको छ। नेपालमा यस वर्ष ‘सुरक्षित आप्रवासनका आधार,सूचना र सीप सहितको रोजगार’ भन्ने मूल नाराका साथ यो दिवस मनाईएको हो ।
संयुक्त राष्ट्र संघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर आप्रवासी दिवस मनाउने गरिन्छ ।
आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउनु दिवसको मुख्य उद्देश्य रहेको छ।
दीप प्रज्वलन कार्यक्रममा कलैया उपमहानगरपालिकाका शाखा अधिकृत तपसीप्रसाद चौरसिया,सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सरोजकुमार सिंह,आप्रवासी हकहित संजाल,कलैया नगर कमिटी अध्यक्ष प्रमोद जयसवाल,सदस्यहरू अमरलाल महतो,राजीव कुमार यादव,समाजसेवी हिरालाल साह,सामी कार्यक्रममा कार्यरत कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

