गण्डक नहरको क्षतिग्रस्त पुलबाट जोखिमपूर्ण यात्रा गर्न यात्री बाध्य

राम मण्डल
309 पाठक संख्या

वीरगञ्ज : गण्डक नहरमा रहेको भाँसिएको पुल बाट जोखिम मोलेर यात्रीहरु आवत जावत गर्न बाध्य भएका छन् ।

पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका र बहुदरमाइ नगरपालिकाको सिमानामा पर्ने गण्डक नहरमा रहेको भाँसिएको पुल बाट सर्वसाधारणहरु जोखिम मोलेर आवत जावत गर्न बाध्य भएका हुन्।

नहरमा रहेको पुरानो पुल गएको भदौमा आएको समान्य बाढीमा भाँसिएको थियोे। सो पुलमा रहेको एउटा पिल्लर भासिएर क्षतिग्रस्त भइसकेको छ। पुल कुनै पनि बेला टुटेर खस्ने अवस्थामा छ। खस्नै लागेको पुलबाट पैदल यात्रुहरु,साइकल र मोटरसाइकल यात्रुहरु आवत जावत गर्दै आएका छन् ।

दैनिक रुपमा हजारौंको संख्यामा पैदल तथा साइकल मोटरसाइकलबाट यात्रुहरु सोे पुल बाट आवतजावत गरिरहेका छन्। सदरमुकाम वीरगञ्जलाई ठोरीसम्म जोड्ने काम गण्डक नहरको बाटोले गर्छ।

गण्डक नहर कै बाटो प्रयोग गरेर सदरमुकाम सम्म आवत जावत गरिने भएकोले क्षतिग्रस्त पुल बाट नै जोखिम मोलेर यात्रुहरु आवतजावत गर्दै आएका हुन । पुल टुटेर ज्यानै जाने जोखिम भएपनी आवतजावत गर्न स्थानीयले छाडेका छैनन् ।

एकले अर्कोलाई देखेर क्षति ग्रस्त पुल बाट सर्वसाधारणहरु यात्रा गर्दै आएको वीरगन्ज महानगरपालिका–२७ का रमन दासले साझेदारी दैनिकलाई बताए ।यात्रा गर्दा जोखिम छ। पुल बाहेक अर्को भरपर्दो विकल्प छैन। त्यसैले सर्वसाधारणहरु सोही पुल प्रयोग गरिरहेका छन्,दासले भने ।

केही महिना पहिले पुल नजिकै बैकल्पिक बाटो बनाइएको थियो। नदीको पानी माथी ह्युम पाइप राखी माटो पुरेर बनाइएको बाटो प्रयोग गरेर ठुलो गाडीहरु ओहोरदोहोर गर्ने गरेका छन्। गाडीको चाप बढी भएकोले खेतीपातीको लागि खेतमा जान पनि किसानहरुलाई लामो दुरिको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको दासले जानकारी दिए।

जनप्रतिनिधि र नेताहरुले कसैले पनि पुल बनाउनमा पहल नगरी निरीक्षण मात्रै गरेको उनको भनाइ छ। पुल क्षति ग्रस्त भएपछि पुलको दुबै तिर माटो राखेर आवतजावत बन्द गरिएको छ।

यात्रुहरु अटेर गरेर टुटेकै पुलबाट यात्रा गर्ने गरेका हुन् । नहरको बाटोमा पर्ने तिलावे नदीमा नहर निर्माणसंगै पुल निर्माण गरिएको थियोे ।धेरै पुरानो पुल भएपनी त्यस्को मर्मत सम्भार छैन। जसले गर्दा तिलावे नदीको पुल भासिएको हो।

Leave a review

This will close in 0 seconds