जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले दिवांगत भएका एक जना स्वास्थ्य कर्मचारीको परिवारलाई रु २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
गत असोज २५ गते आधारभुत स्वास्थ्य चौँकी औराहामा कार्यरत प्रबिण कुमार कर्णको दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटनामा परि मृत्यु भएका कर्णको पत्नी सिमा कर्णलाई रु २५ लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।
सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेड( सलिको) सिमरा शाखाको प्रबन्धक रुकुमाया पाख्रिनले उपमहानगरपालिकामा पुगेर चेक हस्तान्तरण गर्नुभएको हो । चेक प्राप्त गर्ने क्रममा प्रबिण कर्णको पत्नी सिमा कर्ण गहभरी आँसुराखी भाबुक हुनुभएको थियो ।
सिमा कर्ण पनी जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य क्षेत्रको कर्मचारी हुनुहुन्छ । करिब दुई बर्ष अगाडि जीतपुरसिमरा उपमहानगरपालिकाले आफना ४ सय १६ कर्मचारी तथा जनप्रतिनिधिहरुको दुर्घटना बिमा गरेको थियो ।
जसमा लाग्ने सम्पुर्ण बार्षिक प्रीमियम रकम जीतपुरसिमरा उपमहानगरपालिका आफैँ तिर्दै आएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिएका छन ।

