रौतहट प्रहरीले धमाधम मोटरसाईकल चोर पक्राउ गर्न थालेपछि चोरीको घटनामा कमी

साझेदारी दैनिक
292 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/रौतहट प्रहरीले मोटरसाईकल चोरलाई धमाधम पक्राउ गर्न थालेपछि जिल्लामा पच्छिलो समय मोटरसाईकल चोरीको घटनामा कमी आउन थालेको छ।

जिल्लामा मोटरसाईकल चोरीको घटना बढेपछि रौतहट प्रहरीले चोरलाई धमाधम पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन थालेपछि चोरीको घटना बिस्तारै कम हुन थालेको छ।

छुट्टाछुट्टै ठाउँबाट दुईजनाको मोटरसाईकल चोरी गर्ने एकजना मोटरसाईकल चोर पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरबाट खटेको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका -९ घर भएका मोटरसाईकल चोर नेमी चौधरीका छोरा १९ वर्षीय आयुष चौधरीलाई पक्राउ गरेको छ।

पुस ५ गते दिउँसो चन्द्रपुर नगरपालिका -१० स्थितबाट चोरीको मोटरसाईकल सहित चौधरीलाई पक्राउ गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक डिएसपि राजकुमार राईले जानकारी दिए।

पक्राउ परेका चोर चौधरीमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गर्ने डिएसपि राईले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका चौधरी गएको पुस १ गते बिहान ४ बजेको समयमा चन्द्रपुर न.पा. वडा नं. ९ सिंधुरेघाडीका रामकाजी गुरुङको मोटरसाईकल चोरी गरेका थिए।

गुरुङले आफ्नै घर आङगनमा पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चौधरीले चोरी गरेका थिए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उक्त मोटरसाईकल खोज तलाश गर्दै जाने क्रममा पुस ५ गते चन्द्रपुर नगरपालिका वडा नं.१० स्थितमा रहेको छट्टु चौधरीको बाँसघारी भित्र रहेको झाडीमा लुकाई राखेको अवस्थामा मोटरसाईकल सहित चौधरीलाई पक्राउ गर्न सफल भएका थिए।

प्रहरीको हिरासतमा रहेका चौधरीले गरुडाका पनि एकजनाको मोटरसाईकल चोरी गरेको खुलेको छ।

अनुसन्धानको क्रममा चौधरीले गरुडाका उपेन्द्र ठाकुरको टी २०, २२० सिसिको पल्सर मोटरसाईकल चोरी गरेको व्यान दिएको प्रहरीले जनाएको छ।

गएको छठ पर्व भन्दा दुई दिन अघि चौधरीले गरुडा तरकारी बजारबाट ठाकुरको मोटरसाईकल चोरी गरि फरार भएका थिए।

ठाकुरले इलाका प्रहरी कार्यालय गरुडामा मोटरसाईकल खोजतलासको लागि दिएको निवेदनको आधारमा प्रहरीले चोर चौधरीको व्यापक खोजतलास गर्दै आएका थिए।

चौधरीले ठाकुरको मोटरसाईकल पनि आफूले नै चोरी गरेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन्।

उनको व्यानको आधारमा प्रहरीले ठाकुरको मोटरसाइकलको सम्पूर्ण पार्टपुर्जा खुलेको अवस्थामा केही पार्टपुर्जा पनि बरामद गरिसकेको छ।

ठाकुरको मोटरसाइकलको अन्य पार्टपुर्जा कहाँ बिक्री गरेको भनी चौधरी संग प्रहरीले सोधपुछ गरिरहेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एक महिना अघि पनि दुईजना मोटरसाईकल चोरलाई पक्राउ गरी चोरीको मुद्दा चलाइसकेको छ।

चौधरीले जिल्लाको विभिन्न ठाउँबाट नयाँ नयाँ मोटरसाईकल चोरी गर्ने र उक्त मोटरसाइकलको सम्पूर्ण पार्टपुर्जा अर्को मोटरसाइकलमा लगाई १५ देखि २० हजारमा मात्र बिक्री गर्ने गरेका थिए।

जिल्लामा मोटरसाईकल चोरीको घटनामा वृद्धि हुन थालेपछि प्रहरीले चोर समात्न कडा एक्सन लिएको छ जस कारण अहिले केहीदिन यता मोटरसाईकल चोरीको घटना कम हुन् थालेको छ।

Leave a review

This will close in 0 seconds