जीतपुर : बारा प्रहरीले नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।
एक साताको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिले घटनामा आफ्नो संलग्नता रहेको बयान दिएको बारा प्रहरीको भनाई छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । अनुसन्धान अन्तिम चरणमा रहेकाले उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकामध्ये एक जनाको कोठाबाट रुम्बाको पर्स र सिक्री फेला परेको बताइएको छ ।
जीतपुरसिमरा १७ स्थायी घर भई हाल जीतपुरसिमरा १ मा वस्दै आएका रुम्बा सिमरा विमानस्थलमा सुरक्षागार्डका रुपमा कार्यरत थिए । उनको शव पुस ७ गते बिहान जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ स्थित आमाडारको पुलनजिक कारभित्र फेला परेको थियो ।
कारको चालक बस्ने सिटमा मृत भेटिएका रुम्बालाई गोली हानेर हत्या गरिएको पुष्टि भईसकेको छ । उनको टाउकोमा गोली लागेको शल्यपरिक्षण रिपोर्टमा देखिएको थियो ।
रुम्बा सिमरा विमानस्थलबाट गत शनिबार राती राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको बागमती प्रदेश ०१–०२८च ७६१६ नम्बरको कार लिएर निस्किएका थिए ।घटनालगत्तै प्रहरीले अनुसन्धान अधिकृत तिवारीसंग समेत सोधपुछ गरेको थियो ।
यता मृतक रुम्बाको परिवारले प्रहरीको अनुसन्धानमाथि नै शंका रहेका बताएका छन । प्रहरीले घट्नालाई मोड्न दुई जना ब्यक्तिलाई डर, त्रास तथा प्रलोभन देखाई आरोप कबुल गर्न लगाएको परिवारको आरोप छ ।
परिवारले शंकाको घेरामा रहेका अनुसन्धान अधिकृत तिबारीलाई बचाउन खोजिएको भन्दै मृतक रुम्बा परिवारले विरोध जनाएकहुन ।
सामाजिक अभियान्त शिला खनालले दोषिलाई उन्मुक्ति दिई निर्दोषलाई फसाउँन खोजिएको हो भन्ने त्यसको परिणाम नराम्रो आउँने बताईन् । प्रहरीलाई सत्य तथ्यको आधारमा अनुसन्धान गर्न अनुरोध गरिन् । नत्र पुरै गाउँलेहरु प्रहरीको बिरुद्ध सड्क जाम गर्न पनि पछि नपर्ने चेतावनी उनले दिईन् ।
मृतक रुम्बाकी पत्नी र आफन्तजनले पनि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै अनुसन्धानमाथी नै शंका उत्पन्न भएको बताएका छन ।


