वीरगञ्ज : चिसो बढदै गएपछि पर्साका विद्यालयमा स्थानीय पालिकाहरुले बिदा दिन थालेका छन्।
पछिल्लो साता देखि बढेको चिसोले जनजीवनका साथै विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै पालिकाहरुले मातहतका विद्यालयहरुमा बिदा दिन थालेका हुन्।
सोही क्रममा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकाले विद्यालयहरुमा बिदा दिएको छ। महानगरका शिक्षा शाखा अधिकृत हरि राउतले मंगलबार एक सुचना जारी गरी महानगरका सबै सामुदायिक तथा संस्थागत बिधालयहरुमा तीन दिन जाडो बिदा दिएको जानकारी दिएका हुन्।
जाडोका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई ध्यानमा राख्दै पुस २४ गते बुधबारदेखि २६ गते शुक्रबारसम्म बिधालयहरुमा बिदा दिइएको सुचनामा जनाइएको छ ।
अहिले दिइएको बिदा भने बर्षे बिदाबाट कटा हुने सूचनामा बताइएको छ ।यस अवधीमा भने बिधालयहरुको प्रशासनिक कार्य भने सुचारु रहने छ। पछिल्लो एक हफ्तादेखि पर्सा सहित मधेसका जिल्लाहरुमा चिसो बढेर शितलहर चल्न थालेको छ ।
पर्सामा सोमबार घाम लागे पनी मंगलबार भने झनै चिसो बढेको थियोे ।यसअघि चिसोकै कारण पर्साको पर्सागढि,नगरपालिका,पोखरिया,छिपहरमाइ गाउँपालिका,पकहा मैनपुर लगायतका पालिका हरुले सोमबारदेखि नै मातहतका बिधालयहरुमा बिदा दिएका थिए। मंगलबार बिहान वीरगञ्ज लगायत आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का समेत महसुस भएको थियोे।
बिहान भएको भूकम्पको धक्काका कारण मानिसहरु घरबाहिर निस्किएका थिए।


