वीरगञ्ज : पर्सा प्रहरीले स्रोत नखुलेको छ लाख रकमसहित हुण्डी कारोबारको आरोपमा एक भारतीय नागरिक वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतीहारी थाना रक्सौल ग्राम रक्सौन वडा नं.१४ बस्ने २७ बर्षका ओम कुमार रौनियार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगर स्थित रौनियार सवार बिआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकललाई जाँच गरेको थियोे।
मोटरसाइकलको लेगार्डमा झुन्डयाइएको बोराबाट स्रोत नखुलेको ६ लाख नेपाली रकम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए।
रकमसहित रौनियारलाई नियन्त्रणमा उनी विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान भईरहेको लम्सालले बताए।

