रौतहट : ओम प्रकाश यादव/ चिसोबाट प्रभावित हजारौं विपन्न नागरिकलाई रौतहटको गरुडा नगरपालिकाले फाइबर सिरक उपलब्ध गराएको छ।
चिसो छल्न पालिका भित्रका झण्डै १७ सय भन्दा बढी गरिव,दलित एवं विपन्न परिवारलाई फाइबरको सिरक वितरण गरिसकेको गरुडा नगरपालिकाले जनाएको छ।
अन्य जनप्रतिनिधि विकास निर्माणको काममा मात्र सीमित भइरहँदा गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले विकास निर्माण संग सँगै जनतालाई प्रत्यक्ष फाइदा हुने काम गरेका छन्। जयसवाल वितरणमुखी कार्य गरि नगरवासीको मन जित्न सफल भएका हुन्।
अहिलेसम्म नगरको सबै वडामा गरी १७ सय ३५ परिवारलाई न्यानो कपडा नगर प्रमुख जयसवालले वितरण गरिसकेका छन्। एक महिनादेखि नगर प्रमुख जयसवालले गरिव, विपन्न , दलित एवं बेसहाराहरुलाई खोजी खोजी सिरक वितरण गरिरहेका हुन्।
चिसोबाट आम नागरिकलाई जोगाउन आफूले पालिकाको तर्फबाट नगरपालिकामा सिरक वितरण गर्ने कार्य जारी राखेको उनले बताए।
कठ्याङ्ग्रिदो चिसोमा पैसाको अभावमा सिरक किनेर ओढ्न नपाएका गरिव परिवारलाई चिसोकै कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफूले महिनौ दिनदेखि फाइबर सिरक वितरण गरिरहेको उनले जनाएका हुन्।
नगर प्रमुख जयसवालले बुधवार बिहान गरुडा नगरपालिका –५ ठेठरहियामा ७३ जना गरिव, दलित एवं विपन्न परिवारलाई फाइबरको सिरक उपलब्ध गराएका हुन्।
सिरक उपलब्ध गराउने कार्य अझै जारी नै रहेको उनले बताए। चिसोको समयमा नगरपालिकाबाट न्यानो कपडा पाएपछि विपन्न नागरिक निकै हर्षित भएका हुन्।
नगर प्रमुख जयसवालले जनतालाई आवश्यक परेका बेला हरेक प्रकारको सहयोग गर्दै आएका छन्। उनले कुनै प्रकारको आपत विपद् पारेको समयमा नगरवासीलाई खाद्यान्न सामग्री देखि लिएर नगद पैसा र अन्य सहयोग समेत गर्ने गरेका छन्।
जनताको इच्छा,आकांक्षा,चाहना र आवश्यकता अनुसारको कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने गरेका कारण नगर प्रमुख कन्थमनी प्रसाद जनताको मन मस्तिष्कमा बस्न सफल भएका हुन्।
जनता प्रतिको माया,स्नेह,लगावले उनलाई जनताले अत्याधिक मन पराउन थालेका हुन्।


