वीरगन्ज : राम्रो काममा लगाइ दिने प्रलोभनमा पारि होटेलमा वेश्यावृत्तिमा लगाउने एक भारतीय तथा एक नेपाली नागरिक गरी दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले वीरगञ्जको होटेलबाट चार जना महिलाको उद्धार गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने ४५ बर्षका गिनीलाल गुप्ता र भारत विहार जिल्ला पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ बस्ने ४० बर्षका जयप्रकाश साह रहेका छन् ।
पक्राउ परेका दुबै जनाले वीरगञ्ज महानगरपालिका–१५ स्थित होटलमा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले होटल स्मार्टबाट दुइ जना र न्यू शान्ति सैनिक होटलबाट दुइ जना गरी चार जना महिलाहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुबास भट्टले साझेदारी दैनिकलाई जानकारी दिए।
पक्राउ परेका दुबैजनालाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।


