जीतपुरसिमराले प्रदुषण गर्ने ११ वटा उद्योगलाई पत्र काटेर दियो कडा चेतावनी,प्रदुषण गर्ने जो कोहीलाई कारबाही हुन्छ– नगर प्रमुख पौडेल

रञ्जन यादव
447 पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रण गर्न भन्दै कडा चेतावनी दिएको छ ।

उपमहानगरपालिका क्षेत्र भित्र रहेका नन्दन घि एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि.बजनी,शिवशक्ति घि एण्ड आयल ईन्डष्ट्रिज जीतपुर,गणपत्ती बनस्पती प्रा.लि .बजनी,कोहिनुर टेक्सटाईल ईन्डष्ट्रिज प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि.,नेपाल स्टोनेक्स कम्पणी प्रा.लि.,जगदम्बा स्टिल्स प्रा.लि.सिमरा,हुलास स्टिल ईन्डष्ट्रिज सिमरा,नारायण लेदर्स ईन्डष्ट्रिज प्रा.लि. र असोक स्टिल ईन्डष्ट्रिज बजनीलाई उपमहानगरपालिकाले चेतावनी दिएको हो।

कुनै पनि प्रशासनिक स्वीकृति विना नै फोहर पदार्थ तथा फोहर पानी सिधै नजिकैको खोलामा मिसाएको पाइएकाले पत्र लेखेर यस्तो चेतावनी उपमहानगरपालिकाले दिएको हो।

नगर प्रमुख राजन पौडेलले उद्योगको यस्तो गतिविधिले वातावरणीय सन्तुलन बिग्रन सक्ने भएकाले तुरुन्तै सुधारका उपायहरू अपनाउन निर्देशन दिइएको बताए।

उनले उद्योगलाई फोहर पानी प्रशोधन गरेर मात्र बाहिर निकाल्न,आवश्यक उपकरण तथा शुद्धीकरण प्रणाली जडान गर्न र वातावरणीय मापदण्ड पालना गर्न आग्रह गरे।

उद्योगले तोकिएको मापदण्ड पालना नगरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन,२०७८ को दफा १५ अनुसार कडा कारबाही हुने चेतावनी दिइएको हो। बाताबरण तथा बिपद् ब्यवस्थापन शाखा प्रमुख ई. पुष्पा सिंहले उद्योगहरुलाई यस सम्बन्धमा पत्र लेखेका हुन्।

नियम उल्लङ्घन गरेमा ४५ दिनसम्म कैद वा ४५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।उपमहानगरपालिकाले उद्योगलाई समयमै आवश्यक सुधार गर्न आग्रह गर्दै नियम पालना नगरे थप कडा कारबाही गर्ने चेतावनी दिएको छ।

Leave a review