गौर राइस मिलको जग्गा भूमाफियाबाट जोगाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र

साझेदारी दैनिक
452 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ रौतहटको बहुचर्चित गौर राइस मिलको जग्गा भूमाफियाबाट जोगाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले बुधवार साँझ अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

गौर नगरपालिकाका पूर्व मेयरसमेत रहेका एमाले नेता गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर सर्वसाधारणले वर्षौदेखी सार्वजनिक कार्यक्रमको रुपमा प्रयोग गर्दै आएका रौतहटकै मुटु मानिने गौर राईस मिलको जग्गा भूमाफियाले बिक्री गर्ने चलखेलमा लागेको भन्दै तत्काल उक्त जग्गा रोक्का गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।

विज्ञप्तीमा गुप्तले लेखेका छन, ‘गौर स्थित रहेको राईस मिलको जग्गा वर्षौदेखी सार्वजनिक रुपमा प्रयोग भई विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन, तथा क्रिकेट खेलाडीहरुको खेल मैदानको रुपमा प्रयोग भइ आइरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु ।

बेला बखतमा भूमाफियाहरुले सो जग्गाको नक्कली कागजात खडा गरी बिक्री वितरण गर्ने प्रयास गर्दै आएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

वर्षौदेखी सार्वजनिक कार्यक्रमको रुपमा प्रयोग हुँदै आएको उक्त राईस मिलको जग्गा गौर नगरपालिकाको मिलेमतोमा केहि भूमाफियाहरुले बेचविखन गर्ने चलखेलमा लागेकोले तत्काल सो जग्गा बिक्री हुनबाट जोगाउन र दोषीलाई कडा कार्यवाही गर्न एमाले नेता गुप्ताले प्रधानमन्त्री ओलीसंग जोडदार माग गरेका छन् ।

हाल केहि भूमाफिया र गौर नगरपालिकाको मिलेमतोमा ठुलो आर्थिक चलखेल गरी सो जग्गा भागबण्डा गरी खेलमैदानको अस्तित्व नै समाप्त हुनेगरी रौतहटबासीको सपनालाई धमिलो पार्ने उद्देश्यका साथ अगाडि बढेकोमा अविलम्ब सो जग्गा बिक्री वितरणमा रोक लगाई दोषीहरुमाथी छानविन गरी कार्यवाही तथा जग्गा संरक्षण गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराइएको विज्ञप्तीमा उल्लेख छ ।

साबिक गौर गाविस वडा नम्बर ७ को कित्ता नम्बर १३९ को ०–४–१५,१४० को ०.१६–०, १६३ को ४–१०–० र ८०३ को ०.९.० जग्गा कुनैपनि हालतमा भूमाफियालाई बिक्री गर्न नदिन तथा जग्गा संरक्षण गरीदिन तत्काल कदम चाल्नुपर्ने रौतहट क्षेत्र नं १ का सांसदका प्रत्याक्षी समेत रहेका एमाले केन्द्रिय सदस्य अजय कुमार गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैविच गौर नगरपालिकाका मेयर शम्भु साहले दुई दनि अघि मात्रै पत्रकार सम्मेलनको आयोजना गरी एतिहासिक गौर राईस मिलको २ विघा १५ कठा जग्गा निशुल्क नगरपालिकाको नाममा ल्याउने र बाँकी जग्गा बिक्री गर्ने कार्यपालिका बोर्डबाट निर्णय भएको कुरा सार्वजनिक गरेपछि गौरमा आन्दोलन शुरु भएको छ ।

गौर राइस मिलको जग्गा अधिग्रहण गर्न आफुले पटक पटक प्रयास गर्दा पनि सफल नभएपछि अन्तत जग्गा बिक्रीको लागि निर्णय गर्नुपर्ने बाध्याता भएको मेयर साहले पत्रकार सम्मेलनमा बताएका थिए ।

जग्गा बिक्री गर्नका लागि आफु गौर राइस मिल एण्ड फ्लोर कम्पनीका सञ्चालक समितिसँग वार्ता गरी सहमति समेत गरिसकेको समेत उनले बताएका थिए । मिलको नाममा रहेको ५ विघा भन्दा बढी जग्गा मध्ये २ बिघा १५ कठ्ठा जग्गा मिल सञ्चालक समितिले निःशुल्क रूपमा गौर नगरपालिकाको नाममा पास गर्ने सहमति भएको उनले स्पष्ट पारेका थिए ।

गौर राईस मिलको एक इन्च पनि जग्गा भूमाफियालाई बिक्री गर्न नदिने भन्दै राइस मिल बचाउ अभियानले आन्दोलन थालेको छ ।

राइस मिल बचाउ अभियानमा विभिन्न राजनीतिक दल, व्यापारी, उद्योगी लगाएत क्षेत्रका ब्यक्ति आवद्ध छन । गौर राईस मिल बचाउ अभियानले हिजो विरोध प्रदर्शन गर्दै गौर नगरपालिकाका मेयर शम्भु साहलाई ज्ञापनपत्र बुझाउँदै राइस मिलको जग्गा बिक्री गर्ने गरेको निर्णय तत्काल बदर गर्न माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ ।

गौर नगर कार्यपालिकाले रातारात बन्द कोठाबाट गौर राइस मिलको जग्गा बिक्री गर्ने गरेको निर्णयप्रति उनीहरूले आपत्ति जनाएका थिए ।
जनताको भन्दा नगर प्रमुख र केही जनप्रतिनिधिको व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिएको निर्णय आफुहरुलाई कुनै हालतमा स्वीकार्य नहुने उनिहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

आफुहरुले दिएको समयसीमा भित्र नगरपालिकाले आफुहरुको माग सम्बोधन नगरे आन्दोलनको आँधी ल्याउने राइस मिल बचाउ अभियानले चेतावनी दिएको छ ।

गौरका मेयर साहले राइसको मिलको जग्गा बिक्री गर्ने अभिव्यक्ति दिएपछि यसको सडकदेखी सदनसम्म चौतर्फी विरोध भइरहेको छ ।
आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले हिजो संसदको शुन्य समयमा बोल्दै रौतहटको गौरवको रुपमा रहेको राइस मिलको जग्गा केहि भूमाफियाहरुले बेच्ने चलखेलमा लागेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्य राजनीतिक दलहरुले पनि विज्ञप्ती जारी गर्दै गौर राइस मिलको जग्गा बिक्री गर्ने कुचेष्टा नगर्न गौर नगरपालिकाका मेयर शम्भु साहलाई चेतावनी दिदै जग्गा विक्री गर्ने गरेको निर्णय तत्काल सच्चाउन माग गरेका छन् ।

वि.सं.२००३ सालमा गौरस्थित गौर राइस एन्ड फ्लोर मिलको नाममा स्थापना भएको उद्योगको नाममा पाँच बिघा १९ कठ्ठा १५ धुर जग्गा रहेको छ ।

२००३ सालमा स्थापना भएको सो उद्योग केही प्राविधिक कारणले २०३२ सालमा बन्द भएको थियो । उद्योग बन्द भएदेखी नै उद्योगको सो जग्गा स्थानीयहरुले खेल मैदानको रुपमा प्रयोग गर्दै आएका छन् भने विभिन्न मेला महोत्सव,राजनीतिक दलहरुको आमसभा लगाएतका कार्यक्रमहरु हुँदै आएको छ ।

Leave a review