कलैया :बारा प्रहरीले चार लाख १३ हजार मूल्य बराबरको अवैध घरेलु मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । साथै प्रहरीले सात वटा मदिरा भट्टि समेत नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ७ वटा अबैध मदिरा भट्ठी नष्ट गरेको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शको टोलिले आदर्शकोतवाल गाउपालिका वडा नं.५ टेराकट्टीबाट ६६ हजार मूल्य बराबरको ११ सय लिटर कच्चा पदार्थ नष्ट गरेको हो।
प्रहरी चौकी गंजभवानीपुरको टोलिले महागढीमाई नगरपालिका वडा नं.३ र १० बाट ४८ हजार मूल्य बराबरको आठ सय लिटर कच्चा पदार्थ नष्ट गरेको हो।
अस्थायी प्रहरी पोष्ट डुमरवानाको टोलिले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.–१४ र १५ बाट एक लाख ८४ हजार मूल्य बराबरको २४सय लिटर कच्चा पदार्थ र चार सय लिटर तयारी मदिरा नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको हो।
प्रहरी चौकी जैतापुरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ र १८ बाट एक लाख १५ हजार बराबरको चार हजार १५०० लिटर कच्चा पदार्थ र २५० लिटर तयारी मदिरा नष्ट गरेको हो।


