जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडाध्यक्ष सुनील गुप्तालाई बारा प्रहरीले हिरासतमा लिएर डाँका,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा अनुसन्धान भई रहको छ ।
प्रहरीले चैत्र तीन गते साँझ पक्राउ गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट अनुमती लिएको छ । चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा ७ मा रहेको परशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज तथा ज्यान मार्ने प्रयास गरेको आरोप गुप्तामाथी लागेको छ ।
उनीमाथि डाँका,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाराले मुद्दामा अनुसन्धान गरिरहेको बारा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।
यता जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं.७ को कार्यालयलाई आवश्यक ब्यवस्थापनको लागि पत्र लेखेको छ । उपमहानगरपालिकाकाले वडा कार्यालयलाई पत्र लेखी स्थानीय सरकार सञ्चालन ऐन बमोजिम वडाको कामकाज गर्न गराउन निर्देशन दिएको छ ।
वडाध्यक्ष पक्राउ परेकाले अन्य वडा सदस्यहरुको बैठक बसी कार्यवाहक तोकी वडाको कामकाज गर्न सक्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनले गरेको छ ।चैत्र १ गते राती ९ः३० बजेको समयमा वडाध्यक्ष गुप्ता सहितको एउटा समुह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो बाहिरीएको थियो ।
सो क्रममा घरधनी परशुराम गिरीले हवाई फायर समेत गरेपछि सो घटनाले उग्ररुप लिएको हो । लाइसेन्स प्राप्त बन्दुक घरमा राखेका गिरीले आफ्ना छोरा तथा नातीमाथी वडाध्यक्ष सहितको समुहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको बताएका छन् ।
शुरुमा जिल्ला प्रशासन कार्यालयले दुबैपक्षलाई राखेर घटना मिलाउने प्रयास गरेपनि सहमती हुन नसकेपछि आइतबार बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको थियो ।


