सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा बाराको सिमरा रङ्गशालामा आयोजना हुने १५ औं संस्करणको जीतपुरसिमरा गोल्डकप अगामी शुक्रबारबाट सञ्चालन हुने भएको छ।
प्रतियोगिताबारे आयोजक नव–जनजागृति युवा क्लबले सिमरा रङ्गशालामा मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रङ्गशालाको फ्लड लाईटमा यो प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा आठ टिम सहभागि हुनेछन्।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने लामाले जानकारी दिए। उत्कृष्ट प्रशिक्षक,उत्कृष्ट गोलरक्षक र उच्चगोलकर्ताले समान २५ हजार तथा इमर्जिङ प्लेयरले १५ हजार सहित ट्रफि प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगितामा साविक विजेता नेपालपुलिस क्लब,मच्छिन्द्र फुटबल क्लब,फ्रेण्ड्स क्लब,हिमालयन शेर्पा क्लब,भरतपुर फुटबल क्लब चितवन,सलहेश युवाक्लब सिराहा,मकवानपुर जिल्ला फुटबल संघ हेटौंडा र आयोजक नव जनजागृति युवा क्लब सिमराको सहभागिता रहनेछ ।
क्लबको आर्थिक अवस्था तथा ए डिभीजन क्लबहरुको वर्तमान अवस्थाका कारण सहभागि टिमको संख्या घटाईएको क्लबले जनाएको छ।
यस अघिका संस्करणहरुमा कम्तिमा १० टिमको सहभागिता रहने गरेको थियो। पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामचन्द्र लामा,उपाध्यक्ष राजदास श्रेष्ठ,शंकर थापा,महासचिव शम्भुसिंह ठकुरी सहित क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

