काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टीले आईतबार काठमाण्डौमा वृहद प्रर्दशन तथा आम सभा सम्पन्न गरेको छ ।
जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभा भन्दै वृहद र्याली प्रर्दशन तथा आम सभा गरेको हो ।
आम सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष एवम् पुर्वमन्त्री प्रभु साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरुले बेचेर खाएको गम्भीर आरोप लगाएका छन ।
‘देशलाई बन्धकी राखेर तिमीहरुको स्वार्थपूर्ति गर्न त हामी लडेका थिएनौं नि, नेपाली युवाहरुलाई विदेशमा मार्न तिमीहरुलाई नेता बनाएका हौं ? तिमीहरुको आसेपासेलाई मोटाउन हामी युद्ध लगेका थियौं र ? साहले प्रति प्रश्न गरे ।
अध्यक्ष साहले आज देशमा नेताहरुको आसेपासे मालामाल भएको तर जनता बेहाल अवस्थामा रहेको पनि बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दैै देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका थिए ।
उनले कडा शब्दमा बोल्दै लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरुले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने उद्घोष गर्न भ्याए छ ।
आम सभा पुर्व विहान भृकुटीमण्डपबाट शुरु गरिएको प्रर्दशन भद्रकाली,सहिद गेट,सुन्धारा,रत्नपार्क,जमल,घणटघर हुँदै पुन भृकुटीमण्डपमै पुगेर सभामा परिणत भएको पार्टीका केन्द्रीय उपाध्यक्ष श्रीकाजी मोक्तानले जानकारी दिए ।


