पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घट्यो

रासस
679 पाठक संख्या

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल,डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा,दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा,दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली,विराटनगर,जनकपुर,अमलेखगन्ज,भलबारी,नेपालगञ्ज,धनगढी र वीरगञ्जलाई पहिलो,सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ,पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

Leave a review

This will close in 0 seconds