अहिले पनि गाउँका जनताहरु न्यायको पहुँच भन्दा बाहिर छन – मन्त्रि चौरसिया

राजेश कुशवाहा
380 पाठक संख्या

कलैया : नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले अहिले पनि गाउँका जनताहरु न्यायको पहुँच भन्दा बाहिर रहेको बताएका छन ।

बाराको महागढीमाई नगरपालिकामा सोमबार आयोजना गरिएको ‘न्यायीक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन।

स्थानीय तहमा न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरुको न्यायिक सम्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मन्त्री चौरसियाले बताए । सरकारले परिकल्पना गरे अनुरुप न्यायको पहुँच सबैसम्म पु¥याउन स्थानीय तहको भूमिका अतुलनीय रहेको उनको भनाई रहेको थियो ।

न्यायको पहुँच सबै सामु पु-याउनकै लागि स्थानीय तहमा न्यायिक समितिको स्थापना भएको हो उनले भने । समुचित तालिम,स्पष्ट प्रक्रिया र व्यवहारिक ज्ञान बिना न्यायीक समितिले अपेक्षित परिणाम दिन नस्कने उनको भनाई रहेको थियो । न्यायीक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रमले प्रतिनिधिहरूको क्षमतामा गुणात्मक सुधार ल्याउने उनले बताए ।

मन्त्री चौरसियाले न्याय सम्पादन सरल र सहज बनाउनकै लागि कानुन मन्त्रालयले निशुल्क रुपमा प्रत्येक जिल्लामा फ्री मा मुद्दा लड्ने वकिलको ब्यवस्थापन गरेको उनले जानकारी दिए । सबै पालिकाको गेटमा निशुल्क रुपमा मुद्दा लड्ने वकिलको फोटो र नम्बर राख्ने व्यवस्था अगाडि बढाइएको छ । आउने दिनमा कानुनमा के के संसोधन गरेर अझ उत्कृष्ट गर्न सकिन्छ त्यो बाटोमा अगाडि बढ्ने उनले जानकारी दिए ।

नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था गर्न कानुन मन्त्रालय अगाडी बढेको उनले जानकारी दिए । उनले चाडै नै यो व्यवस्था लागु हुने समेत जानकारी दिए । उक्त कार्यक्रममा जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यले उपस्थितहरुलाई न्यायीक समितिका बारे प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा ८० जना न्यायीक समितिका संयोजक,सदस्य र कर्मचारीहरूको सहभागीता रहेको थियो । एक दिने तालिममा न्यायीक प्रक्रियाको आधारभूत अवधारणा, स्थानिय तहमा समाधान गर्नुपर्ने विवादका प्रकृति,मध्यस्थता तथा मेलमिलाप प्रक्रिया,कानूनी लेखाजोखा तथा फैसला लेखन सम्बन्धी विषयमा विज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।

मन्त्रालयको सह सचिव उर्मिला जिसिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर साह,नेपाली काग्रेस बाराका सचिव भैयाराम यादव, सह सचिव प्रमोद यादव,महागढिमाई नगरपालिकाका उप प्रमुख तारा देबि कानु,जितपुर सिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला अधिकारी,कोल्बी नगरपालिकाका उप प्रमुख लक्ष्मी कुमारी चौधरी,निजगढ नगरपालिकाका उपमेयर सोममाया थिङ्ग,पचरौता नगरपालिकाका उपप्रमुख नसिमा खातुन लागयतको बिशेष उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा सञ्चालन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका शाखा अधिकृत भावना बर्णवाल एवम् स्वागत महागढिमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवको रहेको थियो।

Leave a review

This will close in 0 seconds