कलैया । रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमले सफाई पाएका छन्।
उच्च अदालत जनकपुर,अस्थायी इजलास वीरगञ्जले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको हो।
न्यायाधीश द्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो।
जिल्ला अदालत रौतहटको आदेश विरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुगेका थिए। उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो।
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलम सहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो ।
जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम,उनका भाइ मोहम्मद महताब आलम,शेख सराज र बद्री सहनी रहेका छन्।
पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग लागेको थियो।
सो अभियोगमा नेता आलम,उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए।

