कलैया : बाराको कलैयामा निर्वाचन र आमसञ्चार विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय बाराको आयोजनामा कलैयास्थित श्री ३ चन्द्र उच्च माध्यमिक बिधालयको सभा हलमा एक कार्यक्रमबिच उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत नविन चौधरीले सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिता पूर्णरूपमा पालन गर्न आग्रह गरेका हुन्। उनले सञ्चारमाध्यम निर्वाचनको समय संवेदनशील हुने भएकोले समाचार प्रस्तुति, जनचेतना र सार्वजनिक सूचनामा निष्पक्षता तथा तथ्यपरकता अत्यन्तै महत्त्वपूर्ण रहने बताए ।
कार्यक्रममा कार्यालयले अहिलेसम्म विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको मतदान प्रक्रिया, मतदाताको सहभागिता, पारदर्शिता, गोपनीयता तथा समावेशी निर्वाचन सम्बन्धी कार्य तथा अभियानहरूको विस्तृत जानकारी साझा गरिएको प्रमुख चौधरीले जनाए ।
कार्यक्रममा सहभागी अधिकारिहरूले चुनावी तयारीदेखि मतगणना प्रक्रिया, मतदाता शिक्षादेखि अपांगता तथा पिछडिएको वर्गको पहुँच अभिवृद्धि गर्न गरिएका कामहरूबारे पनि प्रेजेन्टेशनमार्फत सहभागीहरूलाई अवगत गराईएको थियो । चार वटै निर्वाचन क्षेत्रका निर्वाचन सामग्रीहरु प्याकेजिङ्ग कार्य सम्पन्न गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यलाई हस्तान्तरको कार्य भईरहेको प्रमुख चौधरीले बताएका छन् ।


