कलैया : बाराको सिम्रौनगढ नगरपालिका–११ भगवानपुरस्थित श्री शंकर नेपाल राष्ट्रिय आधारभूत विद्यालयको पर्खाल निर्माण कार्य रोकिदा बजेट फ्रिज हुने सम्भावना बढेको छ।
मधेश प्रदेश सरकारले विनियोजन गरेको २५ लाख रुपैयाँको बजेट स्थानीय अवरोधका कारण फ्रीज हुने सम्भावना भएको हो।
विद्यालय वरिपरिका केही स्थानीयहरुले विद्यालयको जग्गामा पर्खाल निर्माण रोक्दै आएका छन्। विद्यालय सुधारको नाममा आएको बजेट प्रयोग हुनेभन्दा अगावै स्थानीयको असहयोग र जनप्रतिनिधिको निष्क्रियता देखिएको हो।
विद्यालयको चारैतिर पर्खाल नहुँदा सुरक्षाको अभाव भएको स्थानीय मनोज पटेलले साझेदारी दैनिकलाई बताए। विद्यालयको जग्गामा काठ दाउरा सुकाउने,गोबरको गुइँठो बनाउने कार्य भएको छ। यस्तो कार्य नगर्न वडाध्यक्षले पटक–पटक सार्वजनिक सूचना जारी गरेका छन्। तर पनि स्थानीयले अटेरी गर्दै आइरहेका छन्।
विद्यालयमा हालै ठेक्का लागेको निर्माण कम्पनीले गिट्टी–बालुवा झारेर काम सुरु गर्न खोजेको छ। जनप्रतिनिधिबीच आवश्यक समन्वयको अभावमा निर्माण कार्य ठप्प भएको हो।
केही स्थानीयले बिद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न भन्दै पर्खाल निर्माण हुनुपर्ने बताउदै आएका छन्।

