वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पर्सा जिल्लामा सक्रिय भएको छ। आयोगको टंगाल,काठमाडौँस्थित केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले सक्रियता देखाएको हो।
सो टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।
श्रीवास्तवमाथि अवैध रुपमा घुस असुली गर्दै आएको आरोप लागेको हो। उनले योजना स्वीकृति,खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा संगठित रूपमा अनियमितता गर्दै अवैध घुस असुली गरेको आरोप पटक–पटक लाग्दै आएको थियो।
पोखरिया र बहुदरमाई नगरपालिकामा लगातार बढेका गुनासोपछि श्रीवास्तवलाई निगरानीमा राखिएको थियो। प्रारम्भिक प्रमाण संकलनपछि अख्तियारले कारबाही थालेकोे हो।
आयोगले पर्सा जिल्लाकै पोखरिया नगरपालिकामा छापा मारेको छ। उसले पोखरिया नगरपालिकाको लेखा,योजना,प्रशासन लगायतका विभिन्न शाखामा छापा मारेको छ।
पोखरिया नगरपालिकाले अनाधिकृत कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन र योजनाको कार्यान्वयनमा खुलेआम कानुन मिच्दै भ्रष्टाचार गरेको उजूरीका आधारमा अख्तियारले छापा मारेको हो।
प्रारम्भिक अनुसन्धानमै गम्भीर अनियमितताको संकेत भेटिएको छ। यसपछि अख्तियारले ठूलो तयारीसहित छापा मारेको अख्तियारले जनाएको छ।
अजय श्रीवास्तव अख्तियारको नियन्त्रणमा छन्। पोखरिया नगरपालिकाका कागजातहरू आयोगले नियन्त्रणमा लिएको छ।


