उद्योग तथा पर्यटन प्रवर्द्धन मेला सिमरामा सम्पन्न

रञ्जन यादव
264 पाठक संख्या

जीतपुर : बारा र पर्सा जिल्लाको उद्योग तथा पर्यटन प्रवर्द्धन मेला सिमरामा भव्य रूपमा सम्पन्न भएको छ।

उद्योग विभाग वीरगंज,पर्सा र पर्यटन विकास कार्यालय पर्साको प्रमुख सहयोग तथा नाटा मधेश प्रदेशको संयोजनमा उक्त मेला आयोजना गरिएको हो । मेलाको उद्देश्य घरेलु उत्पादनको प्रचारप्रसार,मिथिला तथा भोजपुरा कला प्रदर्शनी,पर्सा राष्ट्रिय निकुञ्ज तथा ठोरी गाउँपालिकामा अवस्थित पर्यटकीय सम्भावनाको प्रवर्द्धन रहेको थियो ।

कार्यक्रममा आयोजित प्यानल डिस्कसनमा भारतीय पर्यटकले भोग्नुपरेका समस्या, भारतीय मुद्राको प्रयोगसम्बन्धी चुनौती, औद्योगिक पर्यटन, लोपोन्मुख उराउ (धाँगर) र थारु जातिको संस्कृति, मधेश र पहाडका विविध सांस्कृतिक सम्पदाहरु, साथै साना तथा घरेलु उद्योग तालिम पश्चात स्वरोजगारमा लागिरहेका युवाहरूका विषयमा विस्तृत छलफल गरिएको थियो।

नाटा मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षता तथा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ईन्जिनियर वसन्त कुशवाहाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

मन्त्री कुशवाहाले सन् २०२६ लाई ‘मधेश भ्रमण वर्ष’को रूपमा मनाउने घोषणा गर्दै प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढ्ने बताए।

साथै, ‘टुर एण्ड ट्राभल्स समिट’ आयोजना गर्न ४० वटा गन्तव्य स्थल चयन गरिएको जानकारी गराए।छलफल सत्रमा नाटा महासचिव शिवम साहले मोडरेटरको भूमिका निर्वाह गरेका थिए।

सहभागी वक्ताहरूमा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, आइडिआइ काठमाडौंका कार्यकारी प्रमुख उमेश गुप्ता, नाथम कलेज बर्दिबासका प्रमुख शिवेन्द्र मलिक, बिहार पर्यटन अभियन्ता संकेत राय, नाटाका पूर्व केन्द्रीय अध्यक्ष अच्युत गुरागाईं तथा पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा रहेका थिए।कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, उद्योग विभाग पर्साका महानिर्देशक सुशील कुमार शर्मा, पर्यटन विकास कार्यालय वीरगंजका प्रमुख बबिता जैसवाल, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष अवसरमा हर्ष पावर नेपालका संचालक ई। मनोज गुप्ता, उत्कृष्ट सेवा प्रदायक होटलका रुपमा होटल दियालो सोल्टीका प्रबन्ध निर्देशक रमेश थापा र उत्कृष्ट पत्रकारका रूपमा कारोबार दैनिकका बारा प्रतिनिधि प्रकाश लम्साललाई सम्मान गरियो।

साथै, मेलामा सहभागी १५ वटा स्टल राख्ने व्यवसायीहरूलाई मायाको चिनो प्रदान गरियो।मेलाले स्थानीय उद्योग र पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिनुका साथै क्षेत्रीय समृद्धिका सम्भावनाहरू उजागर गरेको आयोजकले विश्वास व्यक्त गरेका छन्। ।

Leave a review

This will close in 0 seconds