बजेट बाँडफाँससहमति जुटेपछि जीतपुरसिमराको दोस्रो नगरसभा असार २५ मा बस्ने सहमति

रञ्जन यादव
286 पाठक संख्या

जीतपुर : आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी सहमति भएसंगै बारा जीतपुरसिमरा उपमहानगरपालिकाले बाह्रौं नगरसभाको दोस्रो बैठक बोलाएको छ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले सूचना प्रकाशित गर्दै नगरसभा असार २५ गतेका लागि तय गरिएको जानकारी दिएका छन। यसअघि असार ९ गते सुरु भएको पहिलो बैठक उद्घाटन सत्रमै स्थगित भएको थियो भने असार १८ मा तय गरिएको दोस्रो बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।

आन्तरिक छलफल र सहमतिपछि उपमहानगरपालिकाले आगामी बजेट २ अर्ब १ करोड रुपैयाँको बनाउने भएको छ। उक्त बजेटमध्ये ४२ करोड रुपैयाँ रकम बाँडफाँड योग्य रहनेछ। बाँडफाँडमा स्पष्ट सहमति बनेपछि नगरसभा सञ्चालनको मार्ग खुल्न पुगेको हो।

सहमति अनुसार, ४२ करोडमध्ये १४ करोड नगर प्रमुख राजन पौडेलको भागमा पर्नेछ। उनले प्रत्येक वडामा न्यूनतम २५ लाखका योजनाहरू अनिवार्यरूपमा राख्नुपर्नेछ। उपप्रमुख भोलाप्रसाद अधिकारीले ६ करोड ६० लाख रुपैयाँ प्राप्त गर्नेछन् । जसबाट उनले प्रत्येक वडामा १० लाखको योजना समावेश गर्नुपर्नेछ। यी योजनाहरू वडाहरूको सिफारिसका आधारमा तयार गरिनेछ। २४ वटा वडाका लागि २० करोड रुपैयाँ छुट्याइएको छ। वडाहरूको जनसंख्या र भूगोललाई आधार मानेर बजेटको बाँडफाँड गरिने जनाइएको छ।

साथै, कार्यपालिका सदस्यहरूको लागि पनि बजेट वृद्धि गरिएको छ। सात जना सदस्यले जनही २० लाखका दरले कुल १ करोड ४० लाख बजेट पाउनेछन्। असार २५ गते बस्ने बैठकबाट उपमहानगरको नीति तथा कार्यक्रम, बजेट तथा सम्बन्धित विधेयकहरू पारित गरिने सम्भावना निश्चित जस्तै भएको छ ।

Leave a review

This will close in 0 seconds