सिमरा । बारामा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै घटनामा एक वृद्ध र एक नाबालक पक्राउ परेका छन्। प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराबाट ७५ वर्षीय हसन जान मियाँ र जीतपुरसिमरा–१ पथलैयाबाट १४ वर्षीय नाबालकलाई नियन्त्रणमा लिएको हो।
इनर्वासिरामा भएको घटनामा मियाँलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाइएको छ।
यसैबीच, पथलैयामा भएको अर्को घटनामा १४ वर्षीय नाबालकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पीडित बालिकाका अभिभावकले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नाबालकलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नाबालकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उनले आरोप स्वीकार गरेको बताएका छन्। यद्यपि घटनाको थप तथ्य अनुसन्धान तथा स्वास्थ्य परीक्षणबाट स्पष्ट हुने प्रहरीले जनाएको छ।
पथलैयाको घटनामा पीडित बालिका र आरोपित नाबालक दुवैको स्वास्थ्य परीक्षण तथा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सेवाका लागि प्रादेशिक अस्पताल कलैया पठाउने तयारी गरिएको छ। स्वास्थ्य परीक्षणको प्रतिवेदन र अनुसन्धानबाट प्राप्त विवरणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

