शिक्षकमाथि दुव्र्यवहार गर्नेहरूमाथि कारबाहीको माग

साझेदारी दैनिक
331 पाठक संख्या

कलैया । शिक्षकमाथि दुव्र्यवहार गर्ने सबैलाई कारवाही गर्न मानवअधिकार एलाइन्स राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मधेश प्रदेशले माग गरेको छ।

एलाइन्सका प्रदेश ईञ्चार्ज कृष्णबहादुर लामा तथा एलाइन्सका मधेश प्रदेश ईञ्चार्ज अनिल तिवारीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

विज्ञप्तिमा बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहले बहुदरमाई घर भई प्रसौनी गाउँपालिका–६ बेलहियामा बसोवास गर्दै आएका शिक्षक नागेश्वर यादव माथि वडा कार्यालयमै बन्धक बनाई गरिएको कुटपिटप्रति घोर आपत्ति र कडा निन्दा प्रकट गरेको छ।

न्याय सुनिश्चित गर्ने जिम्मेवारी पाएको स्थानीय सरकारको प्रतिनिधिबाटै एक शिक्षकमाथि गरिएको अमानवीय व्यवहार शिक्षा क्षेत्रका व्यक्तिहरूमाथि हिंसा मात्रै नभै वैयक्तिक अधिकारहरूको हनन भएको ठहर विज्ञप्तिमा गरिएको छ।

यस्ता गतिविधीले शान्तिपूर्ण र सुरक्षित शिक्षण गर्ने वातावरणलाई खल्बलाउन सक्छ विज्ञप्तिमा भनिएको छ।

घटनामा संलग्न बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष कुशवाहा हाल प्रहरी नियन्त्रणमा रहे पनि उक्त अमानवीय कार्यमा संलग्न अन्य थप ६ जना अझै फरार छन्, जुन अत्यन्तै दुःखद र चिन्ताजनक विषय रहेको एलाइन्सले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला प्रशासन वाराका साथै सम्बन्धित निकायहरूलाई घटनामा संलग्न सबै दोषीहरूलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याई उपयुक्त कारवाही गर्न विज्ञप्ति मार्फत मानव अधिकार एलाइन्सले जोडदार माग गरेको छ।

पीडित शिक्षकलाई तत्काल न्याय सुनिश्चित गर्न र उचित सुरक्षा व्यवस्था मिलाउन मानव अधिकार एलाइन्सले आग्रह गरेको छ।

सम्बन्धित सबै पक्षलाई मानव अधिकारको सम्मान र संरक्षणमा जिम्मेवार रहन अनुरोध समेत एलाइन्सले गरेको छ।

Leave a review