सिमरामा जेनजी युवाहरुको आक्रोशपूर्ण प्रदर्शन

रञ्जन यादव
329 पाठक संख्या

बारा : बाराको सिमरामा जेनजी पुस्ताका युवाहरुले आइतबार सरकारविरुद्ध आक्रोशपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

सामाजिक सञ्जाल बन्देज, बढ्दो भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण लगाउने सरकारी कदमको विरोधमा हजारौँ संख्यामा सडकमा उत्रिएका युवाहरूले घण्टौँसम्म नारा–जुलुससहित सडक तताएका हुन् ।

प्रदर्शनका क्रममा “केपी चोर, देश छाड”, “सामाजिक सञ्जाल बन्द फुकुवा गर”, “भ्रष्टाचारी सरकार मुर्दाबाद”, “अभिव्यक्ति स्वतन्त्रता बन्द गर्न पाइँदैन” जस्ता नारा गुन्जिएका थिए । आक्रोशित युवाहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर समेत जलाएका थिए ।विरोधमा सहभागी अधिकांश युवाहरू स्वस्फूर्त रूपमा सडकमा उत्रिएका थिए ।

उनीहरूले सिमरा बजारमा कोणसभा आयोजना गर्दै सरकारले युवा पुस्ताका आवाजलाई दमन गर्न खोजेको आरोप लगाए । उनको भनाइमा, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकार खोस्ने प्रयास युवा पुस्ताले कहिल्यै स्वीकार गर्ने छैन ।युवाहरूको जुलुस पछि पथलैया–वीरगञ्ज राजमार्गमा प्रवेश गरेको थियो ।

केही घण्टासम्म सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत ठप्प भएको थियो । यात्रुहरू लामो समय सडकमा अलपत्र पर्नुपरेको प्रहरीले जनाएको छ ।सुरक्षा व्यवस्था कडा पार्दै प्रहरी जवानको ठूलो संख्यामा परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी र प्रदर्शनकारीबीच केही समय तनाव पैदा भए पनि पछि अवस्था सामान्य बनेको थियो ।

स्थानीयले जनाएका अनुसार, पछिल्ला दिनमा युवापुस्ता असन्तुष्ट हुँदै सडकमा उत्रिन थालेका छन् । उनीहरूले यदि सरकारको शैली परिवर्तन भएन भने अझै ठूला आन्दोलनको चेतावनी समेत दिएका छन् ।

Leave a review