Sajhedari Daily
Latest News from Nepal

बाराको पथलैयामा ट्रमा सेन्टर र कलैयामा सरुवा रोग अस्पताल निर्माण हुने

बाराको दुई ठाउमा ट्रमा सेन्टर र सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । पथलैयामा ट्रमा सेन्टर र कलैयामा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल निर्माण हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल तथा ट्रमा सेन्टर निर्माणका लागि शुक्रबार जग्गाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले दुबै अस्पतालको लागी जग्गाको निरीक्षण गरेका छन ।

जग्गा निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माणलाई आफनो नीति तथा कार्यक्रममै राखेर बजेट समेत विनियोजन गरि सकेको अवस्थामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि दुबै अस्पतालको निर्माण कार्य चाडै शुरु हुने बताए ।

संघिय सरकारले १५ गते देशैभरका प्रदेश तथा प्रत्येक स्थानीय तहमा अस्पतालको शिल्यान्यास गर्नुपर्ने कार्यक्रम अन्तरगत प्रदेश दुई सरकारले बाराको झिटकैयामा सरुवा रोग अस्पताल र पथलैयामा ट्रमा अस्पताल संचालन गर्ने प्रदेश सरकार सामाजीक बिकास मन्त्रालयले जनाएको छ ।

यी दुबै अस्पताल प्रदेशको गौरबको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश नै लाभान्वित मुख्यमन्त्री राउतले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने निति अनुरुप जग्गाको निरीक्षण कार्य सम्पन्न भएको छ । यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल निर्माण हुने तयारी छ ।

सरुवा रोग अस्पतालका लागी कलैया उपमहानगरले ७ विग्घा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ, भने पथलैया स्थित स्वास्थ्य तालिम केन्द्र प्रदेश सरकारकै मातहतमा रहेको छ ।