रौतहट । प्रहरीले रौतहटको गुजरा नगरपालिका–२ मोजेवान टोलबाट मंगलबार सांझ अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय गोपाल बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । उनको साथ बाट अवैध लागूऔषध गाँजा ३ किलो ५० ग्राम, ७८ हजार ३५ नेपाली रूपैयाँ र ६ सय १० भारतीय रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा बरामद गरेको हो । बरामद भएको अबैध लागु औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिई आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका–२ बाट मंगलबार सांझ अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–२ फुलबारीटोल बस्ने २२ वर्षीय सुभास पुलामी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनको साथ बाट २० किलोग्राम अबैध लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले बा.३१ प ३३१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

