छठ पर्वमा दलितमाथि जातीय विभेद,सिमरामा दलित अगुवाहरूको कडा आपत्ति

रञ्जन यादव
134 पाठक संख्या

सिमरा : तराईबासीहरूको महान पर्व छठमा दलित समुदायमाथि जातीय विभेद गरिएको भन्दै बाराको जीतपुरसिमरा उपमहानगर स्तरीय सर्वदलीय दलित सञ्जालले सिमरामा पत्रकार सम्मेलन गर्दै कडा आपत्ति जनाएको छ।

सञ्जालका अगुवाहरूले पत्रकार सम्मेलनमा छठ पर्व सुरु हुनु अघि नै दलित समुदायका लागि छुट्टै छठीमाईको प्रतिमा बनाउने, पूजा स्थलमा दलितहरूलाई छुट्टै बस्ने व्यवस्था गर्ने जस्ता विभेदपूर्ण अभ्यासहरू निरन्तर भइरहेको बताउँदै यसप्रति चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै पुर्वमधेश प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले भने, “छठमा दलितहरूले बनाएका सामग्रीहरू शुद्धताको प्रतीकका रूपमा प्रयोग गरिन्छ, तर ती सामग्री बनाउने दलितहरूलाई नै पूजा स्थलमा ‘अशुद्ध’ भन्दै टाढा राख्ने परम्परा आज पनि चलिरहेकाले यो गम्भीर सामाजिक अन्याय हो।”

उहाँले यस्ता विभेदपूर्ण कार्यले सहअस्तित्व र समानतामा आधारित समाज निर्माणमा अवरोध पु-याउने बताएका छन्। दलित समुदायका अगुवाहरूले छठ पूजा समितिलाई विभेद अन्त्य गरी सबै समुदायका भक्तजनलाई समान रूपमा पूजा गर्ने वातावरण सुनिश्चित गर्न आग्रह विश्वकर्माले गरेका छन्।

त्यस्तै सञ्जालका अध्यक्ष राजदेव पासवानले विभेदपूर्ण व्यवहार रोक्न आवश्यक कदम चाल्न सम्बन्धित निकाय र प्रशासनलाई माग गर्दै, विभेद गर्ने छठ पूजा समितिमाथि कानूनी कारबाही गर्नुपर्ने माग गरेका छन । छठ पर्वलाई एकता, समर्पण र सहिष्णुताको प्रतीकका रूपमा मनाइने परम्परा भए पनि यस वर्षको तयारीका क्रममा देखिएको जातीय विभेदले समाजमा पुनः प्रश्न उठाएको दलित अगुवाहरूको बताएका छन् ।

कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, पत्रकार तथा मानवअधिकारकर्मी बिदुर खड्का,दलित अगुवा ईन्दल पासवान, श्याम कुमार पासवान लगायतको सहभागिता रहेको थियो ।

Leave a review