पर्सामा लाखौं रुपैयाँ बराबरको तस्करीको औषधिसहित बाराका एक युवक पक्राउ

साझेदारी दैनिक
363 पाठक संख्या

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले लाखौं रुपैयाँ बराबरको अवैध औषधि शनिबार बरामद गरेको छ ।

भारतबाट अवैध रूपमा तस्करी गर्दै आएका बाराको विश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुरका १८ वर्षीय हरिओम कुमार पासवानलाई औषधिसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।घटनास्थलमा बरामद औषधिको बजार मूल्य नौ लाख ५८ हजार नौ सय १३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा खेती इलाकामा सशस्त्र प्रहरीको गस्ती टोलीले उनलाई पक्राउ गरिएको हो। टाउकोमा औषधि बोकेर नेपालतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको सात जनाको गस्ती मोबाइल टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वराज योन्जनले जनाए। भारतबाट विभिन्न प्रकारका मानव स्वास्थ्य सम्बन्धी औषधि तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

औषधि बरामद भएपछि तस्करलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

Leave a review

This will close in 0 seconds