मोटरसाइकलको ठक्करबाट बारामा पैदलयात्रीको मृत्यु, एक जना गम्भीर

साझेदारी डेलि
93 पाठक संख्या

बारा । बाराको करैयामाई गाउँपालिका–८ स्थित नरही चोकदेखि इटहर जाने सडकखण्डमा हाल नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शनिबार राति करिब ११ बजे करैयामाई गाउँपालिका–८ बस्ने करिब ५० वर्षीय उमेश साह सोनार र हाल वतन नखुलेका पवन साह सोनारलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि दुवै जना अचेत अवस्थामा फेला परेका थिए ।

घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा आज बिहान करिब १ः२० बजे उमेश साह सोनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनको शव सोही अस्पतालमा राखिएको छ।

अर्का घाइते पवन साह सोनारको टाउकोमा गम्भीर चोट लागेको र उनको न्युरो अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल र चालक फरार रहेको तथा घटनाबारे थप अनुसन्धान कार्य तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

Leave a review

This will close in 0 seconds