जंगली हात्तीले सडकमै आएर आक्रमण गर्न थालेपछि बाराको वन क्षेत्रमा पाँच दिनका लागि प्रवेश निषेध

राजेश कुशवाहा
277 पाठक संख्या

कलैया : जंगली हात्तीले सडकमै आएर बारामा आक्रमण गर्न थालेको छ। दुई दिनदेखी बाराको पुर्वपश्चिम सडक खण्डमा जंगली हात्तीले आतंंक मचाईरहेको छ । उक्त राजमार्ग पथलैयादेखी निजगढसम्मको जंगल क्षेत्रमा जंगली हात्तीले सडकमै आएर गाडीहरुलाई क्षति गर्ने,मानिसको ज्यान समेत लिन थालेको छ ।

यसपछि डिभिजन वन कार्यालय सिमरा बाराले मंगलबार एक सूचना जारी गर्दै पाँच दिनका लागि राष्ट्रिय बन क्षेत्रमा प्रवेश निषेध गरेको छ। कार्तिक २५ गते मंगलबारदेखि कार्तिक ३० गते आईतबारसम्म वन क्षेत्रमा प्रवेश निषेध गरेको हो ।

बल कार्यालयले पूर्वमा बारा र रौतहट जिल्लाको सीमाना, पश्चिममा वीरगञ्ज हेटौडा जाने त्रिभुवन राजपथको सडक खण्ड , उत्तरमा बारा र मकवानपुरको सीमाना र दक्षिणमा सिमरा –बडहर्वा हुदै कोल्हवी –हिमालीबास जाने बाटोमा आवत जावत गर्न निषेध गरिएको बन कार्यालयले जानकारी दिएको छ। पर्सा राष्ट्रिय निकुञ्ज बाहेक बारा जिल्लाको वन क्षेत्रमा प्रवेश निषेध गरिएको छ।

निषेधित वन क्षेत्रमा आवत जावत, घरपालुवा जनावर लैजान, च्याउ टिप्न, काठ/दाउरा, खरघाँस, पात, सोत्तर लगायतका वन पैदावर ल्याउन जान ,भोज भतेर वा पिकनिक जान पूर्ण रुपमा निषेध गरिएको छ। वन क्षेत्र भित्रका पूर्व –पश्चिम लोकमार्ग ,सहायक मार्गमा गाडी नरोक्न वा पार्किङ्ग नगर्न नगराउन अनुरोध समेत गरिएको छ। वन क्षेत्र प्रवेश गर्न अति नै जरुरी काम परेमा डिभिजन वन कार्यालयको सहमति लिई मात्र प्रवेश गर्न गराउन वन कार्यालयले अनुरोध गरेको छ।

वन जंगलमा जादा हात्ती र बाघ लगायतका वन्यजन्तुको आक्रमण हुन सक्ने प्रबल संभावना र धनजनको संरक्षणलाई मध्य नजर गरी वन ऐन २०७६ को दफा ९ बमोजिम राष्ट्रिय वन (सरकार द्वारा ब्यवस्थित वन, सामुदायिक वन , साझेदारी वन) मा प्रवेश निषेध गरिएको छ। कोही कसैले अटेर गरी सूचनाको बर्खिलाफ गरे गराएमा कानुन बमोजिम कारवाही हुने तथा वन जंगलमा आवत जावत, प्रवेश गर्दा कुनै किसिमले धनजनको क्षति हुन गएमा सोको सम्पूर्ण दायित्व वन जंगलमा आवत जावत प्रवेश गर्ने गराउने व्यक्ति कै हुने वन कार्यालय स्पष्ट पारेको छ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ अन्र्तगतको पूर्व– पश्चिम लोकमार्गको ११ किलो मिटरको वन क्षेत्रमा सोमबार जंगलीको हात्तीको आक्रमण बाट मृत्यु भएका सोही पालिका वडा नम्बर १ बस्ने ४२ बर्षिय राज कुमार चौधरी प्रति वन कार्यालयले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवार प्रति समवेदना प्रकट गरेको छ।

Leave a review

This will close in 0 seconds