निजगढका उत्कृष्ट चार होटललाई टु–स्टार लोगो

साझेदारी दैनिक
653 पाठक संख्या

निजगढ : बाराको निजगढ क्षेत्रका व्यावसायिक होटलहरूको अनुगमन गरी स्वच्छता मापदण्ड अनुसार विभिन्न श्रेणीका लोगो वितरण गरिएको छ।

अनुगमनमा सहभागी टोलीले चार होटललाई ‘उत्तम’, चारलाई ‘सन्तोषजनक’ र एक होटललाई ‘सामान्य’ श्रेणीमा वर्गीकृत गरेको हो । उत्तम श्रेणीमा परेका होटल राजमार्ग, ताराईन, रुद्राक्ष र बर्गर हाउसलाई टु–स्टार (दुई तारे) स्वच्छता मापदण्डको लोगो प्रदान गरिएको छ।

अन्य चार होटलले एक–स्टार लोगो पाएका छन् भने एउटा होटललाई ‘सामान्य’ श्रेणीको लोगो दिइएको छ। लोगो वितरण कार्यक्रम निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, डिभिजन कार्यालय वीरगंजका प्रमुख सुरेशकुमार सिंह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मधेश प्रदेश जनकपुरका प्रमुख विमलकुमार दाहालको उपस्थिति रहेको थियो ।

अनुगमनका क्रममा भान्साको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, भान्से तथा कर्मचारीको स्वच्छता, होटल परिसरको सफाइ, परिकार तयार गर्ने प्रक्रियादेखि ग्राहकले पाउने समग्र सेवासम्मका सूचकको मूल्यांकन गरिएको थियो।

नेपाल सरकार मातहतको कार्यालयले तय गरेका मापदण्डमा खरा उत्रने होटललाई गुणस्तरअनुरूप लोगो प्रदान गरिएको प्रमुख सिंहले बताए । प्रदेशभरका होटल अनुगमन भइरहेका छन्। दाहालका अनुसार मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा लगायतका जिल्लामा स्वच्छता मापदण्ड पूरा गर्ने होटललाई क्रमशः स्टार स्तरका लोगो दिइँदै आएको छ।

बारामा हालसम्म २१ वटा होटलको अनुगमन भइसकेको कार्यालयले जनाएको छ। अमलेखगंजस्थित क्यू–२० होटलले भने पूर्ण मापदण्ड पालना गरेको प्रमाणित भई ‘थ्री–स्टार’ स्वच्छता लोगो पाएको छ।

कार्यालयका अनुसार प्राप्त लोगो स्थायी होइन। अनुगमनमार्फत सेवा गुणस्तर घटेको भेटिए स्टार स्तर पनि घटाइनेछ, र मापदण्ड झनै सुधार्नेलाई थप स्टार दिने व्यवस्था छ।अनुगमन टोलीमा होटल तथा पर्यटन व्यवसायी सङ्घ बाराका अध्यक्ष अर्जुन लम्साल, निजगढ एकाइ अध्यक्ष रामकृष्ण घिमिरे, महासचिव ढकबहादुर दाहाल, स्थानीय प्रहरी तथा सञ्चारकर्मीहरूको पनि सहभागिता थियो।

Leave a review

This will close in 0 seconds