बंगलादेशमा हिन्दु युवकको हत्या विरुद्ध रौतहटको गौरमा विरोध प्रदर्शन

Subash Kumar Mishra
371 पाठक संख्या

रौतहट । बंगलादेशमा क्रूरतापूर्वक हत्या गरिएका हिन्दु युवक दिपुचन्द दासका हत्यारालाई कानुनी दायरामा ल्याई कडा कार्यवाही गर्नुपर्ने माग गर्दै हिन्दुवादी संस्थाहरूको आह्वानमा रौतहट जिल्लाको सदरमुकाम गौरमा बुधबार विरोध प्रदर्शन गरिएको छ ।

हात हातमा तुल ब्यानर र झण्डा बोकेर दर्जनौं मोटरसाईकल, अटो रिक्सामा आएका हिन्दू समर्थक युवाहरुले प्रदर्शन गरेका छन् । हिन्दुवादी नेता राजभूषण श्रीवास्तव तथा स्थानीय समाजसेवी मनोज यादवको अगुवाइमा उक्त प्रदर्शन भएको हो।

धर्मको आधारमा हुने कुनै पनि प्रकारको हिंसा मानव सभ्यतामाथिको प्रहार हो भन्दै उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उक्त विरोध कार्यक्रममा गौरका ई–रिक्सा तथा टेम्पु व्यवसायीहरूले पनि ऐक्यबद्धता जनाउँदै सहभागिता जनाएका थिए। जसले प्रदर्शनलाई थप सशक्त बनेको थियो ।

बंगलादेशमा अल्पसंख्यक समुदायमाथि हुने हिंसाका घटनाहरूले छिमेकी मुलुक नेपालमा समेत चिन्ता बढाउँदै गएको देखिन्छ। विशेषगरी धार्मिक सहिष्णुता र मानवअधिकारका विषयमा आवाज उठाउँदै आएको नेपालका विभिन्न समुदायहरू यस्ता घटनाप्रति संवेदनशील बन्दै गएका छन्।

गौरमा भएको यो प्रदर्शन केवल एक घटनाविरुद्धको आक्रोश मात्र नभई, धार्मिक स्वतन्त्रता, मानवअधिकार र क्षेत्रीय शान्तिप्रति जनचासोको अभिव्यक्ति हो। प्रदर्शनका क्रममा दोषीहरुलाई कडा सजाय दिन,अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार छानबिन गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइएको छ ।

Leave a review

This will close in 0 seconds