बारा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिवशक्ति ग्रुपले राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
शिवशक्ति ग्रुपले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको हो। उक्त रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको समूहले जनाएको छ।
यस्तै, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि., बाराले समेत बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
शिवशक्ति ग्रुपले विपद्को कठिन घडीमा पीडित परिवारलाई साथ दिनु सबैको साझा दायित्व भएको भन्दै निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमता अनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न अपिल गरेको छ।
ग्रुपले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


