कलैया । पुष २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई मध्यनजर गर्दै बारामा नेपाली सेनाले बृहत सरसफाइ कार्यक्रम गरेको छ । नेपाली सेनाको रिपुमर्दन गण बाराको आयोजनामा कलैया उपमहानगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा सरसफाइ गरिएको हो ।
रिपुमर्दन गणको टोलीले सिद्धेश्वर मन्दिर परिसर, भरत चौक तथा प्रादेशिक अस्पताल कलैयामा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको हो। धार्मिक, व्यावसायिक र स्वास्थ्य सेवासँग सम्बन्धित महत्वपूर्ण क्षेत्रलाई केन्द्रमा राखी गरिएको सरसफाइले स्थानीय वातावरण स्वच्छ राख्न सहयोग पुगेको छ ।
गणपति अशोक क्षेत्रीका अनुसार पृथ्वी जयन्ती तथा रास्ट्रीय एकता दिवसको अवसर पारेर सोमबार उक्त सरसफाइ कार्यक्रम आयोजना गरिएको हो । “राष्ट्र, समाज र नागरिकप्रति उत्तरदायी हुँदै सार्वजनिक स्थानको संरक्षण र सरसफाइमा नेपाली सेना सधैं अग्रसर रहँदै आएको छ,” गणपति क्षेत्रीले बताउनु भएको छ । नेपाली सेनाको यस पहललाई स्थानीयवासीहरूले सकारात्मक रूपमा स्वागत गरेका छन् । सरसफाइ अभियानले न केवल सार्वजनिक स्थानको सौन्दर्य बढाएको छ, यसले समुदायमा स्वच्छता र नागरिक उत्तरदायित्वको सन्देश समेत प्रवाह गरेको छ ।


