कलैया : आम जनता पार्टीको क्षेत्रीय भेला कार्यक्रम बाराको महागढीमाई नगरपालिका –१० स्थित गँजभवानिपुरमा मंगलबार सम्पन्न भएको छ। कार्यक्रम आम जनता पार्टी क्षेत्रीय अध्यक्ष सियाराम जयसवालको अध्यक्षतामा सम्पन्न भएको हो।
भेलामा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी रहेकाहुन्। बारा–२ का उम्मेदवार आत्माराम साह, लिलावती देवी साह, केन्द्रीय सचिवालय सदस्य सुनिल यादव तथा बारा–४ का उम्मेदवार उमेश कुशवाहा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय सचिवालय सदस्य सिताराम जयसवालले गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै बारा–४ का उम्मेदवार उमेश कुशवाहाले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने घोषणा गरेकाछन्। उनले १३ सय वर्ष पुरानो सिम्रौनगढको ऐतिहासिक पहिचान संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आम जनता पार्टी निर्वाचित भए मात्र देशको विकास गर्ने जनाए। गरिब तथा विपन्न परिवारका लागि रोजगारी सिर्जना, कृषि क्षेत्रमा देखिएका समस्या समाधान र स्थानीय जनजीवन सुधार गर्न सकिने जनाए। उनले फागुन २१ गते पार्टीलाई मतदान गर्न आग्रह गरे।
त्यस्तै बारा–२ का उम्मेदवार आत्माराम साहले निर्वाचनमा सहभागि आम जनता पार्टी नै जनताको पार्टी भएको बताए। उनले आगामी निर्वाचनको मुख्य उद्देश्य राष्ट्र निर्माण र संविधान संशोधन रहेको बताए। स्थानीय समस्या नजिकबाट बुझेको उनले जनाए। आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको स्पष्ट दृष्टिकोण र दीर्घकालीन सोचका कारण बाराको विकास सम्भव हुने उनले दाबी गरे।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष प्रभु साहले निर्वाचन नियमित निर्वाचन नभएको टिप्पणी गर्दै उनले नेपालमा भ्रष्टाचार र घुसपैठ व्यापक भएकै कारण देशमा महँगी बढेको जनाए। नेपालमा ७६१ वटा सरकार रहेको उनले जनाए। तिनले कानुन बनाएर कर बढाउँदै गएको जनाए। हाल देशमा ४६ किसिमका कर तिर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
आम्दानीको करिब ३३ प्रतिशत कर स्थानीय, प्रदेश र केन्द्र सरकारलाई बुझाउनुपर्ने भएकाले महँगाई चुलिएको उनले उक्त अवसरमा जानकारी दिए। नेपालमा दलतन्त्र हाबी भएको उनले जनाए। नेताका कार्यकर्ता मालामाल हुँदा सामान्य जनता कँगाल बन्दै गएको उनले आरोप लगाए। “सांसद पार्टीको होइन, जनताको हुनुपर्छ,” उनले दावी गरे। दलतन्त्र र भ्रष्टतन्त्रविरुद्ध तेस्रो आन्दोलनको आवश्यकता रहेको उनले बताए। भाषणभन्दा व्यवहार हेरेर सही उम्मेदवार चिन्ने र मतदान गर्न मतदातासँग उनले आग्रह गरे। कार्यक्रममा जनसहभागिता बढाउन टिकटक स्टारहरूलाई समेत सहभागी गराई नाचगान गरिएको थियो।

