प्रसौनी गाउँपालिका बारामा प्रथम र प्रदेशकै दोस्रो स्थानमा

साझेदारी डेलि
280 पाठक संख्या

‎कलैया : ‎बाराको प्रसौनी गाउँपालिका बारामा प्रथम र मधेश प्रदेशकै उत्कृष्टको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा प्रसौनी गाउँपालिकाले ७०.२४ अंक प्राप्त गर्दै जिल्लामा सर्वोत्कृष्ट तथा मधेश प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ।

‎‎वित आयोगले देशभरका स्थानीय तहहरूको सेवा प्रवाह, वित्तीय अनुशासन, पारदर्शिता, योजना कार्यान्वयन तथा समग्र प्रशासनिक कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरेको हो। सार्वजनिक नतिजाअनुसार मधेश प्रदेशमा पर्सागढी नगरपालिका ७२.९९ अंकसहित पहिलो स्थानमा रहेको छ भने प्रसौनी गाउँपालिका ७०.२४ अंकसहित दोस्रो स्थानमा र पर्साको पटेर्वा सुगौली गाउँपालिका ६७.९९ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

‎‎वित्त आयोगका प्रतिवेदन अनुसार बाराका १६ पालिकाहरु परवानीपुर गाउँपालिकाले ६५.१७, अंक, पचरौता नगरपालिकाले ५६.३३, सिम्रौनगढ नगरपालिकाले ५१.३५, करैयामाई गाउँपालिकाले ५०.४५, देवताल गाउँपालिकाले ५०.३२, आदर्श कोटवाल गाउँपालिकाले ५०.१० अंक प्राप्त गरेका छन्।

‎यसैगरी विश्रामपुर गाउँपालिका ४९.६३, कलैया उपमहानगरपालिका ४९.५७, फेटा गाउँपालिका ४९.५५, महागढीमाई नगरपालिका ४९.३१, जीतपुरसिमरा उपमहानगरपालिका ४८.३९, निजगढ नगरपालिका ४१.४७, बारागढी गाउँपालिका ४१.०८, कोल्हवी नगरपालिका ३९ तथा सुवर्ण गाउँपालिकाले ३७.९६ अंक प्राप्त गरेका छन्।

प्रसौनी गाउँपालिकाले पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह र वित्तीय व्यवस्थापनमा देखाएको प्रतिबद्धताका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाइएको छ। ‎‎गाउँपालिकाको यो सफलता समग्र बारा जिल्लाकै गौरवको विषय बनेको छ। स्थानीय तहको क्षमता अभिवृद्धि र सुशासन प्रवद्र्धनमा यस्तो मूल्याङ्कनले सकारात्मक प्रतिस्पर्धा र सुधारको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Leave a review