चन्द्रपुर : रौतहटको चन्द्रपुर शान्तिनगर आईतवारबाट शुरु हुने “श्री कृष्ण प्रणामी धर्म जागनी महोत्सव एवं कलश अनावरण कार्यक्रम २०८२” को सम्पुर्ण तयारी पुरा भएको बताईएको छ ।
श्री कृष्ण प्रणामी सेवा समिति नेपाल तथा मूल समारोह समिति, चन्द्रपुर–६ को आयोजनामा धर्म, भक्ति र आध्यात्मिक उत्साहका साथ सो कार्यक्रम सञ्चालन हुन लागेको हो।
श्रीकृष्ण प्रणामी धर्मका आध्यपीठाधीश जगतगुरु अनन्तश्री विभूषित कृष्णमणि महाराजज्यूको पावन सान्निध्यमा हुने यस महोत्सवमा आशिर्वचन, धार्मिक सभा, विद्वत् गोष्ठी, कथा–प्रवचन र आध्यात्मिक गुञ्जन निरन्तर सुनिन सकिनेछ। कार्यक्रममा देशका विभिन्न मन्दिर तथा धार्मिक स्थलबाट सन्त–महन्त, गुरुजन, पण्डित, प्रशासनिक प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका अगुवाहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
महोत्सव अन्तर्गत आयोजना भोली आईतबार विहान झाँकी, बाजागाजा सहित शोभा तथा कलश यात्रा निकालिने जनाईएको छ । शोभा तथा कलश यात्राले नगरको विभिन्न भागमा परिक्रमा गरिने र चन्द्रपुर नगरपालिकाको सक्रिय सहभागितासहित नगर परिक्रमा कार्यक्रम सञ्चालन हुनेछ। स्थानीय युवा, सामाजिक संस्थाहरू र विभिन्न कार्यालयका प्रतिनिधिहरूको सहकार्यमा कला, संस्कृति, परम्परागत भेषभूषा र बाजागाजाले सिंगारिएको झाँकीले नगरलाई आध्यात्मिक रंगमा रंग्याउने अपेक्षा गरिएको छ।
बारा,पर्सा,रौतहट,मकवानपुर,सर्लाही चितवन लगायत मधेश, कोशी र बागमती प्रदेशलगायत देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा सुन्दरसाथहरुको सहभागिता रहने आयोजक मुल समारोह समितिका राजकुमार बजगाईले जानकारी गराउनुभयो। “तुम सेवा से पाओगे पार, सुख शीतल करूँ संसार” भन्ने मूलमन्त्रका साथ सञ्चालन हुने यस महोत्सवले धर्म, सेवा र सद्भावको सन्देश फैलाउने लक्ष्य लिएको छ। कार्यक्रमअन्तर्गत श्रीमद् तारतम सागर १०८ पाठ पारायण तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न गरिनेछ। फागुन ३ देखि ९ गतेसम्म (१५–२१ फेब्रुअरी २०२६) सञ्चालन हुने महोत्सवले भक्तजनलाई आध्यात्मिक साधना र ज्ञानार्जनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रम अन्तगरगत श्रीमद्भागवत महापुराण कथा महन्त श्री १०८ सुधाकर महाराजबाट प्रवाहित हुनेछ भने श्रीमत्तारतम सागर ब्रह्मवाणी चर्चा सन्त श्री १०८ सुरेन्द्र महाराजद्वारा संगीतमय रूपमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ। सात दिनसम्म संचालन हुने उक्त जागनी महोत्सवमा भजन–कीर्तन, सत्संग, प्रवचन,महात्मेकथा,झाँकी विशेष पूजाअर्चना र भव्य कलश अनावरण कार्यक्रम महोत्सवका प्रमुख आकर्षणका रूपमा रहने आयोजक समितिले जनाएको छ ।









