बारामा निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकियो : जिल्ला निर्वाचन अधिकृत नवीन चौधरी

संदिप प्रसाद यादव
386 पाठक संख्या

कलैया । बाराका चारवटै निर्वाचन क्षेत्रमा मतपेटिकासहित सम्पूर्ण निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकृत नवीन चौधरीले जानकारी दिएका छन्।

उनका अनुसार निर्वाचन क्षेत्र नं. १, २ र ४ मा केही दिनअघि नै सामग्री पठाइसकिएको थियो भने निर्वाचन क्षेत्र नं. ३ मा आज निर्वाचन सामग्री पठाइएको हो।

“निर्वाचन कार्यालयबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पन्न भइसकेका छन्, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सामग्री बुझाइसकेका छौँ,” उनले भने। निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई एकदिने तालिमसमेत प्रदान गरिएको उनले बताए।

साथै निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा निरन्तर अनुगमन भइरहेको र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला प्रशासन कार्यालय बारासँग निरन्तर समन्वय तथा सहकार्य भइरहेको उनले जानकारी दिए।

मतदान गर्नु प्रत्येक नागरिकको मौलिक हक भएकोले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न उनले आग्रह गरेका छन्। मतदानमार्फत शासन व्यवस्थामा अप्रत्यक्ष रूपमा सहभागी हुने अवसर प्राप्त हुने उनले बताए।

यसैबीच प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै बाराका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने जानकारी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सम्पूर्ण नाका बन्द गरिने छ।

Leave a review