डिभिजन वन कार्यालय बाराद्वारा वन डढेलो रोक्न सचेतनामूलक सप्ताह सुरु

रञ्जन यादव
146 पाठक संख्या

जीतपुर : वन क्षेत्रमा बढ्दो डढेलोको जोखिमलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय बाराले जिल्लाभर वन डढेलो सचेतनामूलक सप्ताह कार्यक्रम सुरु गरेको छ। वन संरक्षण तथा डढेलो नियन्त्रणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आईतबारदेखी अकार्यक्रम सञ्चालन गरिएको हो।

सप्ताहको पहिलो दिन बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्थानमा माइकिङ्ग गर्दै सर्वसाधारणलाई वन डढेलोबाट हुने जोखिमबारे जानकारी गराइएको छ। सडक, बजार तथा बस्ती क्षेत्रमा सचेतनामूलक सन्देश प्रसारण गर्दै वन संरक्षणमा सबै नागरिक जिम्मेवार बन्नुपर्ने सन्देश दिइएको थियो।

कार्यक्रममा जिल्लाभरका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू “वन जोगाऔँ, जीवन बचाऔँ” र “वन डढेलो नियन्त्रण सबैको दायित्व” लेखिएका ब्यानर तथा प्लेकार्डसहित कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले वन क्षेत्रमा आगलागी भएमा ‘तिम्रो–मेरो’ नभनी सबैले मिलेर आगो नियन्त्रण गर्नुपर्ने बताउनुभयो। उहाँले वन डढेलोले वनस्पति, वन्यजन्तु र वातावरणमा गम्भीर असर पार्ने भएकाले समयमै नियन्त्रण गर्न स्थानीय समुदायको सक्रिय भूमिका अपरिहार्य हुने उल्लेख गर्नुभयो।

झाले प्रत्येक वन उपभोक्ता समूहलाई सबैले सजिलै देख्ने स्थानमा दमकल, प्रहरी तथा सम्बन्धित वन समूहका सम्पर्क व्यक्तिको फोन नम्बर राख्न निर्देशन पनि दिनुभएको छ। यसो गर्दा आगलागीको घटना भएमा तुरुन्त सूचना पुगेर समयमै नियन्त्रण गर्न सहज हुने उहाँको भनाइ थियो।

डिभिजन वन कार्यालय बाराका अनुसार गर्मी तथा सुख्खा मौसममा वन डढेलोको जोखिम बढ्ने भएकाले सप्ताहभर जिल्लाका विभिन्न वन क्षेत्रमा सचेतनामूलक ¥याली, अन्तरक्रिया, माइकिङ्ग तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

वनमा आगो लगाउने, सिगरेट वा आगोका वस्तु जथाभावी फाल्ने तथा वन क्षेत्र नजिकै असावधानीपूर्वक आगो बाल्ने जस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। वन डढेलोबाट वन, जैविक विविधता र वातावरण जोगाउन स्थानीय समुदाय, वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको कार्यालयले जनाएको छ।

Leave a review