वीरगञ्जमा लामखुट्टे नियन्त्रणका लागि महानगरद्वारा स्प्रे सुरु

संदिप प्रसाद यादव
166 पाठक संख्या

वीरगंज । गर्मी बढेसँगै लामखुट्टेको सक्रियता बढ्न थालेपछि वीरगंज महानगरपालिकाले नियन्त्रण अभियानलाई थप आक्रामक बनाएको छ। महानगरले मंगलवारदेखि फगिङ (एयर स्प्रे) प्रविधि प्रयोग गर्दै साँझको समयमा विषादी छर्न सुरु गरेको हो।

यसअघि पम्प स्प्रे मार्फत मात्र औषधी छर्दै आएको महानगरले अब बिहान र साँझ फरक–फरक विधिबाट लामखुट्टे नियन्त्रण गर्ने रणनीति अपनाएको छ। सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहान र दिउँसो लार्भा नष्ट गर्ने तथा साँझ वयस्क लामखुट्टे मार्ने उद्देश्यले फगिङ अभियान सञ्चालन गरेको जनाएको छ।

महानगरले ३२ वटै वडामा विषादी छर्ने कार्यतालिका तयार गरी अभियानलाई व्यवस्थित बनाएको जनाएको छ। विशेषगरी गर्मी सुरु हुने समय र वर्षायामको सुरुआतमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न समयमै पहल गरिएको जनाएको छ ।

महानगर प्रमुख राजेशमान सिंह ले लामखुट्टेबाट सर्ने डेंगु र मलेरिया जस्ता रोगको जोखिमलाई ध्यानमा राख्दै अभियानलाई निरन्तरता दिइएको बताए। उनले घर वरपर पानी जम्न नदिन, फोहोर व्यवस्थापनमा ध्यान दिन र महानगरको अभियानमा सहकार्य गर्न नागरिकलाई आग्रह गरेका छन्।

Leave a review