मधेसमा पर्यटन पुनरुत्थानका लागि ‘कल्चर एण्ड हेरिटेज टुर’ तालिम सुरु

रञ्जन यादव
124 पाठक संख्या

जीतपुर : मधेस प्रदेशको सांस्कृतिक तथा ऐतिहासिक धरोहरलाई पर्यटनसँग जोड्दै प्रवद्र्धन गर्ने उद्देश्यका साथ सिमरामा चार दिने ‘कल्चर एण्ड हेरिटेज टुर’ तालिम सुरु गरिएको छ। सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा बिहीबारदेखि सुरु भएको तालिम चैत ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को पहल तथा दिगो पर्यटन परियोजनाको सहकार्यमा नाटा मधेस प्रदेशद्वारा आयोजित उक्त तालिममा होटल तथा पर्यटन क्षेत्रमा क्रियाशील ३० जना सहभागी छन्।

कोरोना महामारीपछि कमजोर बनेको पर्यटन क्षेत्रलाई पुनः सक्रिय बनाउने, मधेस प्रदेशमा पर्यटक आगमन बढाउने तथा यहाँका मौलिक संस्कृति र सम्पदालाई प्रभावकारी रूपमा बजारसम्म पु¥याउने उपायबारे तालिम केन्द्रित रहेको जनाइएको छ।

तालिममा प्राध्यापक डा. पशुपति न्यौपाने र गुठी संस्थानका राजेन्द्र दाहालले प्रशिक्षण दिइरहेका छन्। उनीहरूले सांस्कृतिक सम्पदाको संरक्षणसँगै त्यसलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा व्यवहारिक जानकारी प्रदान गरिरहेका छन्।

नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले मधेस प्रदेशमा पर्यटनको ठूलो सम्भावना भए पनि प्रभावकारी प्रचार–प्रसार अभावमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै यस्ता तालिमको आवश्यकता औंल्याए।

उद्घाटन सत्रमा युवराज लामा, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल तथा पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले मधेसको पर्यटन विकासका चुनौती र सम्भावनाबारे धारणा राखेका थिए।

त्यसैगरी, पर्यटन व्यवसायी यज्ञमुर्ति आचार्य, होटल तथा पर्यटन व्यवसायी संघ बारा अध्यक्ष शम्भु खड्गी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, पूर्वअध्यक्ष सञ्जय साह तथा होटल तथा पर्यटन सहकारी संस्थाका अध्यक्ष प्रलाद उप्रेतीलगायतले पर्यटन प्रवद्र्धनका लागि सरकारी र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।

चार दिनसम्म सञ्चालन हुने यस तालिममार्फत सहभागीहरूले मधेसको संस्कृति, सम्पदा तथा पर्यटक सेवा व्यवस्थापनबारे व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको नाटाका सदस्य सदाम हुसेन अंसारीले जानकारी दिए। तालिम उद्घाटन कार्यक्रमको सहजीकरण नाटा मधेस प्रदेशका महासचिव सुदर्शन काफ्लेले गरेका थिए।

Leave a review