अनुसन्धानका लागि पालिएका ५० लाखका पन्छी क्षति

रासस
100 पाठक संख्या

पर्सा । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ । गत चैत अन्तिम साता देखापरेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी र सोको आहारसमेत नष्ट गर्नुपरेको हो ।

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम साता यहाँ पाल्दै आएको पन्छीमा बफ्र्डफ्लु पुष्टि भएपछि करिब रु ४५ देखि ५० लाखको नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । “टर्की जातको पन्छीमा बर्डफ्लु देखिएपछि एकपछि अर्को गर्दै फार्ममा पालिएका अन्य प्रजातिका पन्छीमा बर्डफ्लु देखिएपछि सबै नष्ट गर्नुपरेको हो”, उहाँले भन्नुभयो, “सम्पूर्ण प्रक्रिया पूरा गरेर यहाँ पाल्दै आएका पन्छीहरू, अण्डा र दानाहरूको समेत नष्ट गरेका छौँ ।”

बफ्र्डफ्लुको कारणले करिब दुई हजार कुखुराको चल्ला, करिब १२ सयको हाराहारीमा गिरीराजलगायत कुखुराको प्रजाति, तित्रा ३३ वटा, सेतो/कालो टर्की ४७ वटा, बट्टाई करिब ४५० वटा नष्ट गरिएको कार्यालयले जनाएको छ । त्यस्तै एल वान दाना ८३५ किलोग्राम, एलटु दाना ४५५ किलोग्राम र एलथ्रि एक हजार ८३५ किलोग्राम दाना नष्ट गरिएको छ । सूचना अधिकारी प्रजाले बर्डफ्लु देखिएको फार्ममा अहिले चुना छर्किने, मल पुर्ने, आगोको तापले पोल्नेलगायतका निर्मलीकरणका काम भइरहेको बताउनुभयो ।

“कार्यालयले यसअघि कृषकहरूलाई उपलब्ध गराएको विभिन्न प्रजातिका पन्छी ल्याउने पनि प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पोखरा र नेपालगञ्जमा रहेका कार्यालयबाट आवश्यक पर्ने पन्छी तथा अण्डाहरू ल्याएर फेरि पुन सञ्चालन गर्ने आवश्यक तयारीमा जुटिसकेका छौँ ।”

Leave a review

This will close in 0 seconds