कुशवाहालाई शहीद घोषणा तथा उनको आश्रित परिवारलाई क्षतिपूर्तिको माग गर्दै शिक्षकहरुद्वारा चरणबद्ध आन्दोलनको घोषणा

संदिप प्रसाद यादव
333 पाठक संख्या

क्याम्पस प्रमुख हरिभुषणप्रसाद कुशवाहालाई शहीद घोषणा गर्न तथा आश्रित परिवारलाई क्षतिपूर्तिको माग गर्दै आन्दोलन घोषणा गरिएको छ ।

विभिन्न शिक्षक संग आबद्ध संघ संस्थाहरुले बाराको कलैयामा मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका कार्यवाहक प्रमुख निवेश तिमिल्सिना,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष सुरेन्द्र पासवान रहेका छन् ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन बारा जिल्लाका अध्यक्ष रोशन यादव,नेपाल शिक्षक मञ्च बारा जिल्लाका अध्यक्ष नन्दकिशोर दुवे,संघीय शिक्षक फोरमका प्रतिनिधि लालबाबु प्रसाद जैसवाल,प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव किनु गुप्ताको सो विज्ञप्तिमा हस्ताक्षर रहेको छ ।

एन प्याव्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहा,पेव्सन प्रतिनिधि मनोज प्रसाद यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

बारा जिल्लाको सदरमुकाम कलैया स्थित श्री रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण प्रसाद कुशवाहालाई जेठ ३२ गते साझ आदर्शकोतवाल गाउँपालिका ३ वतरा भन्ने स्थानमा अज्ञात समूहद्वारा गोली हानी हत्या भएको हो ।

सो विज्ञप्तिमा बारा जिल्लाका सम्पूर्ण पेशागत संघ संगठनहरु स्तव्ध भएको विज्ञप्तिमा लेखिएको छ । विगत केही महिना देखी शिक्षकहरु माथि निर्ममता पूर्वक हत्या गर्ने श्रृखला बढी रहेको जनाउदै बारा जिल्लामा कुनै न कुनै किसिमबाट शिक्षकको हत्या हुनुले शिक्षकलाई सहज वातावरणमा शिक्षण गर्न गम्भीर चुनौती देखा परेको विज्ञप्तिमा लेखिएको छ ।

यस्ता अपराधिक घटना भइरहेको अवस्थामा सम्पूर्ण शैक्षिक जगतमा अहम् भूमिका निर्वाह गर्ने शैक्षिक व्यक्तित्वहरु गुणस्तरीय शिक्षा प्रदान गर्ने अवस्थामा नरहेको विज्ञप्तिमा भनिएको छ । शान्ति सुरक्षाको अनुभूति गराई दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको माँग समेत विज्ञप्तिमा गरिएको छ ।

आन्दोलन गर्न बाध्य भएको विज्ञप्तिमा भनिएको छ । यस आन्दोलनले पर्न जाने सम्पूर्ण क्षतिको जवाबदेही नेपाल सरकार हुने विज्ञप्तिमा लेखिएको छ । विज्ञप्तिमा घटनामा संग्लन दोषीलाई यथासिघ्र पक्राउ गरी कडा भन्दा कडा कार्यवाही गर्न माग गरिएको छ ।

मृतक शिक्षक कुशवाहालाई शहीद घोषणा गर्न विज्ञप्तिमा माग गरिएको छ । मृतक शिक्षकको परिवारलाई आवश्यक क्षतिपुर्तिको व्यवस्था गर्न माग गरिएको छ ।

शैक्षिक जगत तथा बारा जिल्लाको आम नागरिकको शान्ति सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ । असार ५ गते बुधवार बारा जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय,क्याम्पसहरुमा कालोपट्टी बाँधी विरोध गर्ने आन्दोलनको कार्यक्रम रहेको छ ।

६ गते विहिबार चक,डस्टर,मार्कर नचलाई अध्ययन अध्यापन गर्ने आन्दोलनको कार्यक्रम रहेको छ । ७ गते शुक्रबार दिउसो ३ बजे रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसवाट शान्तिपूर्ण र्‍याली निकाली भरत चौकमा विरोध सभा गर्ने कार्यक्रम रहेको छ।

माग सम्बोधन नभएमा थप कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्न वाध्य हुने चेतावनी संयुक्त विज्ञप्तिमा दिइएको छ ।

Leave a review

This will close in 0 seconds