जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना तर्जुमाका लागि तयार गरिएको मस्यौदामाथि छलफल तथा पृष्ठपोषण कार्यशाला सिमरामा सम्पन्न भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उपमहानगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाकी अधिकृत पुष्पा सिंहले जानकारी दिइन्।
नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ता रामकुमार दाहाल र यशप्रसाद सुब्बाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनालगायतका विषयमा प्रस्तुति दिएका थिए। उनीहरूले जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक तथा मानवसिर्जित विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तहले दीर्घकालीन योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
लुमन्तीका कार्यक्षेत्र संयोजक अब्दुल कैसका अनुसार उपमहानगरपालिका स्तरीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा रणनीतिक कार्ययोजना तयार गर्ने क्रममा सहजकर्ता टोलीले विभिन्न वडामा १० दिनसम्म अध्ययन तथा अनुसन्धान गरी जोखिम नक्साङ्कन तयार गरेको छ।
कार्यक्रममा उपमहानगरपालिका क्षेत्रभित्र रहेका खोला तथा नदीजन्य जोखिम, वन्यजन्तुको आक्रमण, सामुदायिक कुकुरको समस्या, औद्योगिक प्रदूषण, आगलागी, हावाहुरी, बाढी–डुबान, चट्याङ, सर्पदंश तथा सडक दुर्घटनाजस्ता सम्भावित विपद्का जोखिमहरूको नक्साङ्कन प्रस्तुत गरिएको थियो। सहभागीहरूले आ–आफ्नो क्षेत्रका जोखिम पहिचान गर्दै कार्ययोजनामा समावेश गर्नुपर्ने सुझाव दिएका थिए।
छलफलका क्रममा विपद् पूर्वतयारीलाई वडास्तरसम्म प्रभावकारी बनाउने, आपत्कालीन उद्धार सामग्रीको व्यवस्थापन गर्ने, सुरक्षित बस्ती विकास, जलवायु अनुकूल पूर्वाधार निर्माण, जनचेतना अभिवृद्धि तथा विपद् सूचना प्रणालीलाई थप सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले विपद् व्यवस्थापनलाई केवल उद्धार कार्यमा सीमित नराखी जोखिम न्यूनीकरण र पूर्वतयारीमा केन्द्रित हुनुपर्ने बताए। उनले स्थानीय समुदायको सहभागिता, सरोकारवाला निकायबीचको समन्वय तथा वैज्ञानिक आधारमा तयार गरिने कार्ययोजनाले उपमहानगरपालिकालाई विपद् प्रतिरोधी र जलवायु उत्थानशील नगरका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यशालाबाट प्राप्त सुझावहरू समेटेर विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा रणनीतिक कार्ययोजनाको अन्तिम मस्यौदा तयार गरिने आयोजकले जनाएको छ।


