डुमरवाना । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित स्वाभिमान बस्ती (कतर्वा) र वदाफर क्षेत्रका किसानहरूले मकै बिक्रीपछि पनि विभिन्न बहानामा ठगिने गरेको गुनासो गरेका छन्। किसानहरूका अनुसार मकै बिक्री गरेको एक महिनाभन्दा बढी समयपछि भुक्तानी लिन जाँदा प्रति बोरा १८ रुपैयाँसम्म कटौती गरिने तथा तौलमा समेत अनियमितता हुने गरेको छ।
स्थानीय किसान नारायण रिमालले मकै बिक्री गरेको लामो समयसम्म भुक्तानी नपाएको र रकम लिन जाँदा प्रति बोरा १८ रुपैयाँ कटौती गरिएको बताए। “किन पैसा काटिएको हो भनेर सोध्दा व्यापारीहरूले स्पष्ट जवाफ दिन सकेनन्,” उनले भने।
यस्तै, किसान मोहनकुमार भट्टराईले तौल प्रक्रियामै अनियमितता हुने गरेको आरोप लगाए। उनका अनुसार व्यापारीहरूले बोरा सहित ५० किलो २०० ग्राम तौल भएको मकै बुझ्ने तर भुक्तानी गर्दा ४९ किलोका आधारमा हिसाब गर्ने गरेका छन्। “तौल बढी हुँदा पनि कम तौलको हिसाब गरेर पैसा दिनु अन्याय हो,” उनले गुनासो गरे।
यस क्षेत्रमा करिब एक दर्जन किसानले प्रत्येक वर्ष एक ट्रकसम्म मकै उत्पादन गरी बिक्री गर्ने गरेका छन्। तर उत्पादन बिक्री गरेपछि पनि समयमै भुक्तानी नपाउने समस्या झेल्नुपरेको किसानहरूको भनाइ छ। किसान प्रहलाद सापकोटाले सात महिना लगाएर उत्पादन गरेको मकैको भुक्तानी पाउन डेढदेखि दुई महिनासम्म कुर्नुपर्ने अवस्था रहेको बताए। “व्यापारीले जे भन्यो त्यही मान्नुपर्ने बाध्यता छ। विरोध ग-यो भने अर्को वर्ष मकै नउठाइदिने डर हुन्छ,” उनले भने।
किसानहरूका अनुसार मल, बीउ, सिँचाइ तथा मजदुरी खर्च बढ्दै जाँदा खेतीको लागतसमेत उच्च भएको छ। सरकारी अनुदानको मल समयमै उपलब्ध नहुँदा निजी बजारबाट प्रतिवोरा एक हजार २०० देखि एक हजार ५०० रुपैयाँसम्म तिरेर मल खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।


